स्वचालित प्रणालीबाट सेयर कारोबार भएपछि नेपालको सेयर बजार पनि अन्तर्राष्ट्रियस्तरको हुनेछ । यसअघि सेयर कारोबार गर्न चाहनेले ब्रोकर कार्यालय जानुपर्ने वाध्यता थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज (मङ्गलबार)देखि सेयर खरिद बिक्री पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट सुरु गर्न लागेको छ । आज बिहान ११ बजेदेखि नै अनलाइनमार्फत् कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । स्वचालित प्रणालीको आजै अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ ।
अनलाइनमार्फत् सेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोल्नुपर्छ । यस्तो खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सकिन्छ । तर, त्यसका लागि ब्रोकरमार्फत् ‘युजरनेम’ र ‘पासवर्ड’ लिन भने भुल्नु हुँदैन । ब्रोकरमार्फत् युजरनेम र पासवर्ड प्राप्त गर्न व्यक्तिगत विवरण ब्रोकरलाई उपलब्ध गराउनुपर्छ । व्यक्तिगत विवरणमा सीआस्बासहितको बैङ्क खाता, हितग्राही (डीम्याट) खाता, ईमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ ।
नेप्सेले गत साउन १ गतेदेखि नै पूर्ण स्वचालित अनलाइन प्रणालीमा सबै ब्रोकरहरुलाई जोडेर परीक्षण गरिरहेको छ । ब्रोकरहरुले पनि आवश्यक भौतिक तयारी पूरा गरी स्वचालित प्रणालीका लागि तयार भएका छन् । स्वचालित प्रणालीबाट सेयर कारोबार भएपछि नेपालको सेयर बजार पनि अन्तर्राष्ट्रियस्तरको हुनेछ । यसअघि सेयर कारोबार गर्न चाहनेले ब्रोकर कार्यालय जानुपर्ने वाध्यता थियो ।
पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्ने विश्वास गरिएको छ । नेप्सेले आजदेखि अनलाइन प्रणाली सुरु हुने घोषणा गरेसँगै लगानीकर्तामा उत्साह देखिएको छ । विगत केही दिनदेखि ओरालो लागेको नेप्से सोमबार दोहोरो अङ्कले सुधारिएको थियो । लगानीकर्ताले लामो समयदेखि अनलाइन प्रणालीको प्रतीक्षा गर्दै आएका थिए ।
यसअघि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणाली कार्यान्वयन गर्न नेप्सेलाई पटक पटक निर्देशन दिँदै आएको थियो ।
कसरी गर्न सकिन्छ अनलाइनबाट कारोबार ?
अनलाइन कारोबार प्रणालीबाट सेयर किनबेच गर्न लगानीकर्ता ब्रोकरकोमा गएर अनलाइन खाता खोल्नुपर्छ । त्यसमा बैङ्क खाता र डिम्याट खातालाई लिङ्क गराएपछि मात्र सेयर खरिदबिक्री गर्न सकिन्छ । कारोबार गर्दा आवश्यक अन्य काम सबै सेयर दलाल कम्पनीले नै प्रक्रिया पूरा गराउनेछन् ।
लगानीकर्ताले कारोबार गर्न इन्टरनेट भएको स्थानमा बसेर आफूले चाहेको सेयर खरिद वा बिक्री गर्न डेस्कटप वा मोबाइलको माध्यमबाट आदेश दिन सक्छन् ।
तर, अनलाइनका माध्यमबाट सेयर किनबेच गर्न लगानीकर्ताको बैङ्क खातामा पैसा तथा डिम्याट खातामा अनिवार्य रुपमा सेयर जम्मा भएको हुनुपर्छ । सेयर किन्दा बैङ्क खातामा २५ प्रतिशत पैसा नभए स्वचालित प्रणालीले कारोबार गराउँदैन भने सेयर बेच्दा डिम्याट खातामा सेयर नभए कारोबार हुनेछैन । यस्तै दलालले कारोबार लिमिट दिएमा बैङ्क खातामा पैसा नभए पनि सेयर किनबेच हुन सक्ने बताइएको छ ।
यसरी हुन्छ अनलाइनबाट कारोबार
लगानीकर्ताले अनलाइनबाट सेयर खरिदबिक्री आदेश दिएपछि ब्रोकरका माध्यमबाट नेप्सेमा उक्त आदेश जान्छ । नेप्सेले अनलाइन प्रक्रियाबाट आएको आदेश तुरुन्तै कारोबार तथ्याङ्क सङ्कलनका लागि सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्याङ्क सङ्कलन गरेपछि पुनः लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेमा पठाउँछ । त्यसपछि नेप्सेले उक्त आदेश ब्रोकर कम्पनीलाई पठाउँछ ।
ब्रोकरले नेप्सेको आदेश पाइसकेपछि बैङ्कमा जम्मा हुनुपर्ने २५ प्रतिशत ब्यालेन्स तथा डिम्याटमा सेयर भए नभएको हेर्छ । खरिदकर्ताको बैङ्कमा ब्यालेन्स वा बेच्न चाहनेको डिम्याट खातामा सेयर भएको अवस्थामा ब्रोकरले बिक्रीको आदेश दिने लगानीकर्ताको अनलाइन खातामा आदेश पूरा भएको सूचना पठाउँछ । त्यसपछि खरिदकर्ताको आदेशअनुसारको सेयर डिम्याट खातामा जम्मा गरिदिन्छ ।