घट्दो ट्रेन्डको सङ्केत

घटेको बजारबाट कसरी फाइदा लिने र बढ्दा कसरी अझ अधिकतम फाइदा बटुल्ने भन्नेतर्फ लगानीकर्ता चनाखो हुनु आवश्यक छ ।

घट्दो ट्रेन्डमा रहेको सेयर बजारमा आएको चामत्कारिक वृद्धि एक दिनभन्दा बढी टिक्न सकेन । निरन्तरको गिरावटमा ‘ब्रेक’ लगाउँदै सोमबार ४४ अङ्कको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वृद्धि देखिए पनि मङ्गलबार वृद्धि टिकाउन धौधौ भएको थियो । मङ्गलबार २ अङ्कको झिनो वृद्धि देखिएको नेप्से बुधबार भने फेरि २०.६३ अङ्क (१.४४ प्रतिशत)ले घटेर १४१६.६१ अङ्कमा पुगेको छ । कारोबार सुरुवातमा केही बढ्ने सङ्केत गरी २ अङ्कको सामान्य सुधार देखिए पनि कारोबार सुरु भएको ४७ मिनेटपछि भने निरन्तर बजार घट्न थालेको हो । बुधबारको कारोबारको आधार हेर्दा बजारले घट्दो ट्रेन्ड समाउने सङ्केत गरेको छ ।

मङ्सिर अन्तिमबाट निरन्तर ओरालो लागेको बजारमा सोमबारको उछाललाई क्यापिटल नेपालले अस्वाभिवक रूपमा लिँदै लगानीकर्ता सचेत भएर लगानी गर्नुपर्ने उल्लेख गरेको थियो । बुधबार देखिएको तीव्र गिरावटमा पनि कुनै कारण छैन । यो समयमा ठूलो अन्तरमा बजार घट्नुपर्ने वा बढ्नुपर्ने गरी मुलुकको राजनीतिक तथा आर्थिक परिदृश्यमा कुनै परिवर्तन भएको अवस्था छैन । त्यसैले घटेको बजारबाट कसरी फाइदा लिने र बढ्दा कसरी अझ अधिकतम फाइदा बटुल्ने भन्नेतर्फ लगानीकर्ता चनाखो हुनु आवश्यक छ । बजारमा देखिएको तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न उद्योगी व्यवसायीले प्रधानमन्त्रीसम्म आग्रह गरेको स्थितिमा पनि बजारमा सुध्रिने सङ्केत गरेन ।

बुधबार नेप्सेमा वर्गीकृत १० ओटै समूह उपसूचकमा गिरावट आएको त्यसको सीधा असर नेप्से परिसूचकमा परेको हो । आज सबैभन्दा बढी बिमा समूहमा धक्का लागेको छ । बिमा समूह १३४.८२ अङ्कले घटेको छ । त्यसपछि होटल २९.३३, लघुवित्त २६.६८, जलविद्युत् २६.०१, अन्य समूह १९.३८, विकास बैङ्क १७.१६, बैङ्किङ १६.२८, वित्त ४.८, उत्पादनमूलक समूह १.४ र व्यापार १.३५ अङ्कले घटेका छन् ।

बुधबार ५ हजार ५९ कारोबारबाट ८ लाख ९० हजार ४ सय ६३ कित्ता सेयर किनबेच भई ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । यो कारोबार मङ्गलबारको भन्दा कम हो । मङ्गलबार ६ हजार ८ सय २ कारोबारबाट १२ लाख ६२ हजार ४ सय १७ कित्ता सेयर किनबेच भई ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैयाँबराबरको सेयर खरिदविक्री भएको थियो । आज अग्रपङ्क्तिमा रहेका नेपाल टेलिकम, स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैङ्कको सेयर खरिदबिक्री भएको छ ।