निर्धारण भयो हेलिकप्टरको भाडादर

निश्चित मापदण्ड नभएकै कारण हेलिकप्टर कम्पनीहरुले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले नयाँ दर निर्धारण गरेको हो ।

सरकारले हेलिकप्टर कम्पनीहरुका लागि भाडादर निर्धारण गरेको छ । निश्चित मापदण्ड नभएकै कारण हेलिकप्टर कम्पनीहरुले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले नयाँ दर निर्धारण गरेको हो ।

विषेश गरी पर्यटक खोज तथा उद्धारमा प्रयोग हुने हेलिकप्टरहरुले मनलागी भाडा उठाएको भन्दै सरकारले केही महिनाअघि केही कम्पनी, ट्राभल एजेन्सी र अस्पताललाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्र पठाइसकेको छ ।

पर्यटक खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा हेलिकप्टरको भाडादर निर्धारण गरिएको नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । उनले नेपाल वायुसेवा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यमा निर्धारण गरेको भाडादरलाई विभागले स्वीकृत गरेको हो ।