मलेसिया जाने कामदारलाई भिसा प्रक्रियाका विषयमा खडा गरिएका संयन्त्रहरु विवाद भएपछि श्रममन्त्री खारेजीको घोषणा गरेको ६ महिनापछि त्यस्तै संयन्त्र कतारले पनि नेपालमा लागू गर्ने भएको छ ।
कतार सरकारले काठमाडौंमा भिसा र बायोमेट्रिक स्वास्थ्य परिक्षण सेन्टर स्थापना गर्ने घोषणा गरिसकेको छ । कतारका लागि नेपालका राजदुत यूसुफ बिन मोहम्मदले नेपालमा कतार सरकारले भिसा र बायोमेट्रिक स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरिने बताए । ‘यसका लागि अन्तिम तयारी भैरहेको छ,’ उनले भने । नयाँ स्थापना गरिन लागेको सिष्टमले नेपाली कामदारलाई सहज सेवा हुने उनले बताए ।
नेपालमा गरिने स्वास्थ्य परिक्षण सेवाले कतारमा गरिने स्वास्थ्य परिक्षणको बाध्यता हट्ने दुतावासले जनाएको छ । ‘अहिले नेपालबाट कतार पुग्ने नेपाली कामदार स्वास्थ्य परिक्षणमा फेल हुँदा नेपाल फर्किनुपर्ने बाध्यता छ, यसले कामदारलाई आर्थिक भार थपेको छ,’ उनले भने । त्यहि सुविधा नेपालमा भयो भने कामदारलाई सहज हुने उनले बताए ।
कतारले नेपालमा बायोमेट्रिक स्वास्थ्य परिक्षण प्रणाली लागू गर्नका लागि सिंगापुरको कम्पनी बायोमेट्रिक स्मार्ट आइडिन्टीटी सोलुसनलाई जिम्मा दिएको जनाएको छ ।
नयाँ संयन्त्र स्थापनाका लागि कतार सरकारका चार जना सदस्यसहितको टोलीले नेपाल सरकारसँग छलफल गरेको दुतावासले जनाएको छ । तर, श्रम, रोजगार तथा
सामाजिक सुरक्षा मन्त्रालयले कतारले नेपालमा भिसा र बायोमेट्रिक प्रणाली स्थापना गर्ने विषयमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले कतार सरकारले नेपालमा स्थापना गर्न लागेको संयन्त्रका विषयमा अहिलेसम्म जानकारी नभएको बताए ।
नेपालमा मलेसियाले भिसाका लागि भीएलएन, वान स्टप सेन्टर, स्वास्थ्य परिक्षणका लागि बायोमेट्रिक प्रणाली, अध्यागमन सुरक्षाका लागि जिएसजीलगायतका संयन्त्र स्थापना गरेपछि त्यसले कामदारलाई आर्थिक भार पारेको भन्दै श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गते ती संस्थालाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएका थिए ।
नयाँ संयन्त्र स्थापना भएपछि कतार जाने नेपाली कामदारलाई पनि आर्थिक भार थपिने भएकाले यस्तो संयन्त्र लागू नगराउन नेपाल सरकार सुरुमै कदम चाल्नुपर्ने बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।