अनलाइन काराेबारमा तत्काल राफसाफ तथा फर्छ्याेट सम्भव छैन : नेप्से

नयाँ प्रणालीमा प्रत्येक ब्रोकरले अविच्छिन्न रुपमा कनेक्सन स्थापित गर्न नसकेको, अर्को ब्रोकरभन्दा फरक समयमा सम्पर्क स्थापित गरेकोलगायत काराणले फरक विवरण देखिएको हुन सक्ने नेप्सेले बताएको छ । यस्तो समस्या पनि समाधान गरिने उसको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन काराेबारमा तत्काल राफसाफ तथा फर्छ्याेट सम्भव नभएको बताएको छ । क्लियरिङ बैङ्कले रकमको विद्युतीय स्थानान्तरणलाई सहज बनाएको अवस्थामा मात्र तत्काल राफसाफ हुने उसको भनाइ छ ।

हाल लगानीकर्ताले तत्काल राफसाफ तथा फर्छ्याेटको माग गरिरहे पनि त्यसका लागि क्लियरिङ बैङ्कले रकमको विद्युतीय स्थानान्तरणलाई सहज बनाउनुपर्ने बताएको हो । हाल नेप्सेसँग आबद्ध ४ ओटा क्लियरिङ बैङ्कमध्ये एउटाले मात्र आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गरिरहेको नेप्सेले बताएको छ ।

अनलाइन प्रणालीका विषयमा लगानीकर्ताले उठाएका माग र आएका समस्या समाधान गर्दै जाने नेप्सेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता तथा ब्रोकर कम्पनीले उठाएका मागलाई आगामी दिनमा समाधान गर्ने पनि उसको भनाइ छ ।

नयाँ प्रणाली स्थापनापछि लगानीकर्ताले कारोबारको विवरण वास्तविक समयमा हेर्न नपाउने समस्या सामना गरेका थिए । यस्तो समस्या कारोबार प्रणालीसँग नभई कारोबारको विवरण प्रसारण गर्ने माध्यममा भएको र त्यो समाधान भइसकेको नेप्सेले जानकारी दिएको छ । नेप्से कारोबार प्रणालीमा भएको विवरण ‘एप्लिकेसन प्रोग्राम इन्टरफेस’मार्फत नेप्से वेबसाइटमा डिस्प्ले गर्दा डाटा एक्सचेन्जमा केही समस्या भएकाले कारोबार विवरण पठाउन नेप्सेलाई कठिन भएको र समस्या समाधान गरिएको नेप्सेले बताएको छ ।

यस्तै नेप्सेले सुरुदेखि संसारभर प्रचलित ‘भ्यालु वेटेड इन्डेक्स’ विधिअनुरुप परिसूचक गणना गर्दै आएको र अहिले पनि उक्त विधि परिवर्तन भएको बताएको छ । केही ब्रोकर कम्पनीहरुमा देखिएको फरकफरक मूल्य देखिएको गुनासो आएको नेप्सेको भनाइ छ । नयाँ प्रणालीमा प्रत्येक ब्रोकरले अविच्छिन्न रुपमा कनेक्सन स्थापित गर्न नसकेको, अर्को ब्रोकरभन्दा फरक समयमा सम्पर्क स्थापित गरेकोलगायत काराणले फरक विवरण देखिएको हुन सक्ने नेप्सेले बताएको छ । यस्तो समस्या पनि समाधान गरिने उसको भनाइ छ ।