‘भ्रमण वर्ष २०२०’ सफल बनाउन चीनको सहयोग हुन्छ : पर्यटनमन्त्री लुओ सुगाङ

चिनियाँ फेस्टिबलमा सहभागी हुन नेपाल आएका पर्यटनमन्त्रीले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग मङ्गलबार भएको द्विपक्षीय भेटमा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चीनबाट नेपालमा पर्यटक पठाउनका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ ।

चिनियाँ फेस्टिबलमा सहभागी हुन नेपाल आएका पर्यटनमन्त्रीले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग मङ्गलबार भएको द्विपक्षीय भेटमा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटमा चीन सरकारको सहयोगमा भइरहेका विभिन्न सम्पदाको पुनर्निर्माणको विषयमा चासो व्यक्त गरेका थिए । यस्तै दुवै देशका प्रधानमन्त्रीबीचको भेटमा भएका सहमतिअनुसार नुवाकोटको ९ तले दरबारको पुनर्निर्माण छिट्टै सुरु गर्ने बताएका छन् ।

भेटमा मन्त्री अधिकारीले चीन सरकारले दिएको जहाजले नेपालको नागरिक उड्डयन क्षेत्रको विकासमा ठूलो सहयोग गरेको बताए । उनले नेपाली जहाज चीनमा उडान भर्नका लागि समन्वय गरिदिन आग्रह गरेका छन् । चीनका मन्त्रीले नेपाली जहाजको चीनमा हुने उडानबारे आफूले सक्दो समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै भेटमा भ्रमण वर्षको अभियानलाई २०३० सम्म निरन्तरता दिने र चीन सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नेसमेत सहमति भएको छ । चीनका पर्यटनमन्त्रीको नेपाल भ्रमणलाई लक्षित गरी पर्यटन मन्त्रालयले केही सम्झौतासमेत गर्न लागेका छन् । पर्यटनमन्त्री अधिकारीले सञ्चारकर्मीसँग कुरागर्दै द्विपक्षीय सम्झौताका लागि छलफल अघि बढेको बताए । चीनका मन्त्री ४ दिनसम्म नेपालमा बस्ने भएकाले सो अवधिसम्म कुनै सम्झौता हुन सक्ने उनको भनाइ छ । मन्त्रालय स्रोतका अनुसार सम्झौताको ड्राफ्ट तयार भइरहेको छ ।

नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरी २० लाख पर्यटक भित्र्याउने तयारी गरेको छ । २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले प्राथमिकतामा चीनलाई पनि राखेको छ । नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा छुट्टै वेबसाइट निर्माण गरी प्रचारप्रसार सुरु गरेको छ भने वेबसाइटमा भ्रमण वर्ष २०२० को लोगोमा प्रयोग भएका स्लोगनसमेत चिनियाँ भाषामा राखिएको छ । हाल चीनबाट वार्षिक एक लाखभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन् ।

भेटमा नेपालका तर्फबाट पर्यटन राज्यमन्त्री धनबहादुर बूढा मगर, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यलगायतको सहभागिता थियो ।