नेप्सेमा कारोबार भएका ९ समूहमध्ये ८ समूहमा सुधार आउँदा बजार बढेको हो । आज नेप्सेमा फाइनान्स समूहबाहेक सबै समूह बढेका छन् ।
अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको चौथो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ अङ्कले बढेको छ । नेप्सेमा कारोबार भएका ९ समूहमध्ये ८ समूहमा सुधार आउँदा बजार बढेको हो । आज नेप्सेमा फाइनान्स समूहबाहेक सबै समूह बढेका छन् ।
आज फाइनान्स शून्य दशमलव २५ अङ्कले घटेको छ । नेप्से बढेको दिन मङ्गलबार जीवन बिमा ७७ दशमलव ०९, निर्जीवन बिमा ७५ दशमलव १४, होटल ३६ दशमलव ५७, बैङ्किङ १४ दशमलव ६९, विकास बैङ्क १२ दशमलव ५९ र लघुवित्तमा १० दशमलव ५८ अङ्कले सुधार भएको छ । आज नेप्सेमा व्यापार र उत्पादनमूलक समूहको कारोबार भएन ।
मङ्गलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि सुधारिएको छ । सोमबार १३ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा मङ्गलबार १७ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा आज १ सय ५० कम्पनीका २ हजार ७ सय ६९ कारोबारबाट ६ लाख ५५ कित्ता सेयर खरिदबिक्री भई १७ करोड ४१ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ४ करोडले बढी हो ।
सोमबार नेप्सेमा कारोबार भएका १ सय ३१ कम्पनीका २ हजार ६ सय ७ कारोबारबाट ४ लाख ४३ हजार सेयर खरिदबिक्री भई १३ करोड ३७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।