साइटमा पटकपटक समस्या आउँदा पनि बेवास्ता गर्दै नेप्से

अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएदेखि देखिएको समस्यालाई नेप्सेले बेवास्ता गर्दै आएको छ । मङ्गलबार १३ अङ्कले बढेको बजारलाई नेप्सेको साइटमा शतप्रतिशत घटेको देखिएको छ भने परिसूचक शून्य देखिएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएदेखि देखिएको समस्यालाई नेप्सेले बेवास्ता गर्दै आएको छ । मङ्गलबार १३ अङ्कले बढेको बजारलाई नेप्सेको साइटमा शतप्रतिशत घटेको देखिएको छ भने परिसूचक शून्य देखिएको छ ।

नेप्सेको साइटमा हिजो सोमबार पनि यस्तै समस्या देखा परेको थियो । अनलाइन प्रणालीमा आएको समस्या समाधान गरिरहेको बताएको नेप्सेले आफ्नै वेबसाइटमा देखिएको समस्या भने बेवास्ता गर्दै आएको हो । पटक पटक एकै प्रकारको समस्या देखिए पनि नेप्सेले हालसम्म यो समस्या समाधान गरेको छैन ।

बजारको आकृति देखाउने रेखाचित्र (ग्राफ)मा पनि समस्या देखिँदा नेप्से स्थिर देखिएको छ । जसले बजारमा भएको दिनभरको उतराचढाव बुझ्न पाउने अवस्था छैन । नेप्सेको साइटमा देखिने सेन्सेटिभ इन्डेक्स पनि शतप्रतिशत घटेको देखाउँछ र परिसूचक शून्य देखाउँछ ।

अनलाइन प्रणालीबाट कारोबारको डाटा कलेक्सन गर्दा यस प्रकारको समस्या देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार बजार क्लोजिङको समयमा नेप्सेको साइटमा समस्या देखिँदै आएकाले यसलाई चाँडै नै समाधान गरिने बताए । अनलाइन प्रणालीमा देखिएका समस्या समाधान गर्न नेप्से लागिरहेको र उक्त समस्या पनि अनलाइन प्रणालीकै कारण देखा परेकाले आगामी दिनमा सुधारिने पराजुलीको भनाइ छ ।