नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा १०/१२ अङ्कसम्मको वृद्धि वा गिरावटलाई सामान्य रूपमा लिनुपर्ने हुन्छ किनभने बजारमा देखिने सामान्य उतारचढावका बीच नै लगानीकर्ताले आफूलाई सुरक्षित राख्ने वा नाफा ‘बुक’ गर्ने हो ।

साताको अन्तिम दिन बिहीबार धितोपत्रको कारोबार परिसूचक उतारचढावका बीच अन्तिम समयमा सामान्य वृद्धि देखिएको छ । पाँचै दिन कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई दिन बजार घटेर बन्द भएको छ भने तीन दिन वृद्धि देखिएको छ । सोमबार भने एकाएक चामत्कारिक वृद्धि नेप्सेमा देखिए पनि मङ्गलबार वृद्धि टिकाउन धौधौ परेको थियो । बुधबार भने नेप्सेमा २० अङ्कको गिरावट आएको थियो । तर, बिहीबार नेप्से ७.२२ अङ्क (०.५१ प्रतिशत) बढ्दै १४२३.८३ अङ्कमा चढेको छ । गत बिहीबारको तुलनामा यो साता समग्रमा नेप्से परिसूचकमा ९.०५ अङ्कको वृद्धि देखिएको छ । गत बिहीबार नेप्से १४१४.७८ अङ्कमा थियो ।

बिहीबार नेप्सेमा वर्गीकृत १० उपसूचकमध्ये व्यापार २.८७ अङ्क, होटल ६.६४ अङ्क र विकास बैङ्क सूचक ७.४१ अङ्क घट्दा अन्य ७ ओटा उपसूचकमा सुधार आएपछि त्यसको असर समग्र नेप्सेमा परेको हो । बिहीबार नेप्सेमा देखिएको कारोबारले आगामी केही दिन कारोबार स्थिर ढङ्गले अघि बढ्ने सङ्केत गरेको छ । नेप्सेमा १०/१२ अङ्कसम्मको वृद्धि वा गिरावटलाई सामान्य रूपमा लिनुपर्ने हुन्छ किनभने बजारमा देखिने सामान्य उतारचढावका बीच नै लगानीकर्ताले आफूलाई सुरक्षित राख्ने वा नाफा ‘बुक’ गर्ने हो । तर, अझै पनि बजार वृद्धि हुनका लागि राजनीति तथा आर्थिक परिस्थितिमा कुनै सुधार आएको छैन ।

आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर कारोबारले कुल कारोबार रकमलाई वृद्धि गरेको छ । एसियनको संस्थापक सेयर करिब २३ प्रतिशत अर्थात् १२ करोड २६ लाख ९५ हजार ७ सय ९५ रूपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसैगरी दोस्रो बढी कारोबार भएको प्रभु बैङ्कले १०ः४ को अनुपातमा दिन लागेको हकप्रद सेयरको ‘बुक क्लोज’ भएका कारण कुल कारोबारको १० प्रतिशतभन्दा बढी अर्थात् ५ करोड ६१ लाख १ हजार १ सय २६ रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।

आज बिहीबार नेप्सेमा ५ हजार १ सय ५० कारोबारबाट १३ लाख ४९ हजार ७ सय २९ कित्ता सेयर खरिद बिक्री भई ५३ करोड ५० लाख ९२ हजार २ सय १८ रूपैयाँबराबरको सेयर किनबेच भएको छ । यो कारोबार बुधबारको भन्दा बढी हो । बुधबार ५ हजार ५९ कारोबारबाट ८ लाख ९० हजार ४ सय ६३ कित्ता सेयर किनबेच भई ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ रूपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।