कुनै पनि विदेशी पाहुनालाई नेपाल ल्याएर लामो समयसम्म राख्न सक्ने अवस्था नै नरहेको अध्यक्ष शाक्यको भनाइ छ । उपत्यकाभित्र रहेका ट्राफिक लाइटहरु सञ्चालन नहुँदा सिठ्ठी बजाएर हात हल्लाएका भरमा गाडी आवातजावत गर्दा धेरै समस्या उत्पन्न भएको उनको ठहर छ ।
होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले हालको पूर्वाधारले २० लाख पर्यटक भित्र्याउन सम्भव नरहेको बताएका छन् । भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि निजी क्षेत्रले भने त्यो सम्भव नभएको बताउँदै आएको छ ।
सरकारले कुनै प्रभावकारी कार्यक्रमबिनै महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको बताउँदै पूर्वाधार निर्माणमा जोड दिन अनुरोध गरेका छन् । सरकारसँग रहेको नेपाल वायुसेवा निगमको सेवा चुस्त नभएको, विमानस्थलको अवस्था राम्रो नभएको, काठमाडौंभित्रको ट्राफिक व्यवस्थापन कमजोर भएको र सडकको स्तर नाजुक रहेको उनको भनाइ छ ।
कुनै पनि विदेशी पाहुनालाई नेपाल ल्याएर लामो समयसम्म राख्न सक्ने अवस्था नै नरहेको अध्यक्ष शाक्यको भनाइ छ । उपत्यकाभित्र रहेका ट्राफिक लाइटहरु सञ्चालन नहुँदा सिठ्ठी बजाएर हात हल्लाएका भरमा गाडी आवातजावत गर्दा धेरै समस्या उत्पन्न भएको उनको ठहर छ ।
२० लाख पर्यटक राख्न सक्ने क्षमताका होटल रहे पनि उनीहरुलाई नेपाल आउने वातावरण सरकारले बनाउनु पर्ने उनले बताए । भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण सम्पन्न नहुँदा धेरै पर्यटकलाई नेपालमा लामो समयसम्म राख्न नसकिएको अध्यक्ष शाक्यको भनाइ छ । नेपालमा धेरै पर्यटकीय स्थल रहँदारहँदै पनि प्रचारप्रसारको अभावले ओझेल परेको भन्दै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
यसैबीच हानको एक टोली नोभेम्बर १९ मा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमका लागि भारतको बैङ्ग्लोर जाने भएको छ । हानका अध्यक्ष शाक्यसहितको टोलीले त्यहाँ रहेका होटलहरुको अवलोकन गर्नुका साथै क्याटगोरीको प्रक्रियासमेत बुझ्ने कार्यक्रम रहेको जनाएको छ ।
हानका प्रथम उपाध्यक्ष सिर्जना राणाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य र उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली दूतावास तथा बैङ्ग्लोरमा बसोबास गरिरहेका नेपालीहरुको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गर्न लागेको बताइन् । सो कार्यक्रममा नेपालका पर्यटकीय स्थलहरुका बारेमा प्रचारप्रसार गर्नुका साथै पर्यटकीय स्थलमा लगानीका लागि सम्भावनाहरुको चर्चासमेत हुने उनको भनाइ छ ।
सोही अवसरमा हानको अर्धवार्षिक साधारण सभासमेत हुने छ । साधारण सभामा ३५ भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने जनाइएको छ । साधारण सभाले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न हानले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने बताइएको छ ।
यस्तै हानका महासचिव विनायक शाहले सरकारले हालै सार्वजनिक गरेको सय नयाँ गन्तव्यहरुमा लगानी विस्तार गर्न सरकार र निजीक्षेत्र मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको बताए ।