वायुसेवा निगमले आज श्वेतपत्र जारी गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने प्रस्ताव अघि सारिरहेको बेला निगमले श्वेतपत्र जारी गर्न लागेको हो ।

नेपाल वायुसेवा निगमले श्वेतपत्र जारी गर्ने भएको छ । निगमले वर्तमान अवस्था र भावी कार्ययोजनालाई समेटेर श्वेतपत्र जारी गर्न लागेको हो ।

डेढ महिनाअघि निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका मदन खरेलले आज ३ बजे कार्यालयमै पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गर्न लागेको प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने प्रस्ताव अघि सारिरहेको बेला निगमले श्वेतपत्र जारी गर्न लागेको हो ।

केही साताअघि आमाको निधन भएपछि निगमका अध्यक्ष खरेल अलि दिन विदामा बसेका थिए । उनी नियुक्ती भएलगत्तै श्वेतपत्र जारी गरी नयाँ ढङ्गबाट निगमलाई सञ्चालन गर्ने सोचका साथ अघि बढेपनि आमाको मृत्यु भएपछि केही समय ढिला भएको थियो ।

अध्यक्ष खरेलले श्वेतपत्र जारीका लागि कमिटी गठन गरेका थिए । कमिटीले बुझाएको सुझावका आधारमा उनले श्वेतपत्र जारी गर्न लागेका हुन् । केही महिनाअघि मात्र २ ओटा वाइडबडी जहाज भित्र्याएको निगमले सोचेअनुसार व्यवसायिक उडान गर्न सकेको छैन । यस्तै चीनबाट ल्याइएका जहाज पनि पूर्ण रुपमा सञ्चालन गर्न नसकेको आरोप निगमलाई पर्दै आएको छ ।