अधिकांश जलविद्युत् कम्पनीका सेयर आधारभूत मूल्यमै

सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका सेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको सेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

कुनै समय सेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका सेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै सेयर मूल्य २ सय रूपैयाँभन्दा माथि छ । केही कम्पनीको सेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका सेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको सेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

लामो समयदेखि ओरालो लागेको नेसनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता सेयर ७७ रूपैयाँमा खरीद बिक्री भएको छ । बुधबार सो कम्पनीको सेयर आधारभूत मूल्यभन्दा २३ रूपैयाँ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको सेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता सेयर ९७ रूपैयाँमा खरीद बिक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ ।

घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता ९७ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ । चिलिमे जलविद्युत् कम्पनीको सेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको सेयर प्रतिकित्ता ६८८ रूपैयाँमा कारोबार भएको छ । कुनै समय चिलिमे जलविद्युत् कम्पनीको सेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको सेयरमा समेत उच्च गिरावट आएको छ ।

स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको सेयर २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १२६, बरुण हाइड्रोपावर कम्पनीको सेयर १२१ रूपैयाँमा खरीद बिक्री भएको छ । ५०१ मा थप सार्वजनिक निष्कासन गरेको बुटवल पावर कम्पनीको सेयरसमेत घटेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता ४६० रूपैयाँमा खरीद बिक्री भएको छ । सेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको सेयर १०८, कालिका पावर ११३, नेपाल हाइड्रो डेभलपर्स १२० रूपैयाँमा खरीद बिक्री भएको छ । हिमालयन पावर पार्टनर २०५, ङादी ग्रुप पावर १२९, पञ्चकञ्या माई १२३, राधी विद्युत् कम्पनी १८० र रैराङ हाइड्रोपावरको सेयर प्रतिकित्ता १११ रूपैयाँमा खरीद बिक्री भएको छ ।

यस्तै रिडी हाइड्रोपावरको सेयर १०५, सिनर्जी पावर डेभलपर्स १०० र युनाइटेड मोदीको प्रतिकित्ता १४३ रूपैयाँमा खरीद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन । धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका सेयर निरन्तर ओरालो लागिरहेको छ । कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गर्यो भने बुधबारदेखि मध्य भोटेकोसी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड बराबरको सीमित साधारण सेयर बिक्री सुरु गरेको छ । रासस