साताको अन्तिम दिन नेप्से ३ अङ्क घट्दा २३ करोडको कारोबार

अनलाइन कारोबार प्रणाली सुरु भएको ३ दिनपछि बजारले सुध्रने सङ्केत देखाए पनि साताको अन्तिम दिन बिहीबार ३ अङ्कले घटेको हो ।

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ । अनलाइन कारोबार प्रणाली सुरु भएको ३ दिनपछि बजारले सुध्रने सङ्केत देखाए पनि साताको अन्तिम दिन बिहीबार ३ अङ्कले घटेको हो । बुधबार अन्तिम समयमा आएर बढेको बजार बिहीबार भने बढ्न सकेन ।

बिहीबार नेप्से सूचक घटे पनि कारोबार रकममा भने सुधार भएको छ । बुधबार १७ करोड रुपैयाँको कारोबार भएको थियो भने बिहीबार २३ करोडको कारोबार भयो । १ हजार २ सय ९ अङ्कबाट सुरु भएको बजार ४ अङ्क बढेपछि लगातार घट्दै ३ अङ्क तल आएर रोकियो ।

नेप्सेमा आज १ सय ५८ कम्पनीका ३ हजार ५ सय २० कारोबारबाट ८ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भई २३ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भयो, जुन बुधबारको कारोबार रकमभन्दा ५ करोडले बढी हो ।

बिहीबार नेप्सेमा कारोबार भएका समूहमध्ये होटल समूहबाहेक सबै समूहमा गिरावट आएको छ । होटल समूह शून्य दशमलव ३८ अङ्कले बढेको छ । यो बाहेक सबैभन्दा बढी निर्जीवन बिमा २४ दशमलव १७, लघुवित्त १२ दशमलव ७९ अङ्कले घटेको छ । यस्तै बैङ्किङ समूहमा २ दशमलव ९८ र जलविद्युत् ३ दशमलव ६६ अङ्कले घटेको छ ।