नेपाल र मलेसिया सरकारविच श्रम समझदारीपछि पनि बन्द भएको मलेसिया खुलाउने भन्दै मलेसिया बस्ने बंगलादेशी नागरिक हनिफले नेपाल आएर नेपालका बायोमेट्रिक गर्ने स्वास्थ्य संस्थाबाट २० लाख रुपैयाँ माग्न थालेको व्यवसायीहरुले बताएका छन् ।
मलेसियामा विभिन्न ठगीमा परेर विवादित बनेका हनिफले नेपालमा श्रममन्त्री गोकर्ण विष्टको नजिकका व्यवसायी पूजा चन्द ठकुरीसँग मिलेर मलेसिया कामदार पठाउन नयाँ व्यवस्था आफुले सुरु गर्न लागेको भन्दै मलेसिया जाने कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थासँग पैसा मागेका हुन् ।
मलेसिया खुल्न लागेको र स्वास्थ्य परिक्षण गर्ने संस्था अनुगमन गर्नुपर्ने भन्दै हनिफ विभिन्न मेडिकल पुगेर पैसा मागेको एक स्वास्थ्य व्यवसायीले क्यापिटल नेपाललाई बताए । ‘श्रममन्त्रीकै नाम बेचेर उनले २० लाख रुपैयाँ मागिरहेका छन्,’ उनले भने । मन्त्रीले खारेज गरेका पाँच संस्थाको जिम्मा अब आफुले पाएको भन्दै उनले सबै व्यवसायीलाई पैसा मागेको उनले बताए ।
श्रममन्त्री विष्टले गत जेठ २ गते मलेसिया जाने कामदारसँग ठगी गरेको भन्दै पाँच संस्थालाई खारेजी गर्दै कारवाहीको दायरामा ल्याएका थिए । ६ महिना बन्द भएको रोजगारी खुलाउनका लागि कार्तिक १२ गते नेपाल र मलेसियाबिच श्रम समझदारीमा हस्ताक्षर भएको थियो । श्रम समझदारीपछि पनि मलेसियाको रोजगार अझै खुलेको छैन ।
लामो समयसम्म पनि मलेसिया नखुलेपछि बंगलादेशी नागरिक हनिफ नेपाल आएर मलेसिया खुल्न लागेको भन्दै नेपाली व्यवसायीसँग २० लाख उठाउन पहल थालेका हुन् । १ साताअघि नेपाल आएका हनिफले उपराष्ट्रपतिका छोरा, श्रममन्त्रालयका उच्च अधिकारीसँग भेट गरेका थिए । उनलाई नेपालमा म्यानपावर व्यवसायी रघु पुरी र मलेसियामा बस्ने सन्तोष कार्कीले सहयोग पुराएको व्यवसायीले बताएका छन् ।
(तस्विरमा पहेंलो ज्याकेटमा हनिफ)