दस लाख बुझाएपछि ग्राउन्डेड हुनबाट जोगियो सौर्य एयर

पटक पटक बक्यौता रकम तिर्न ताकेता गरे पनि अटेर गरेको भन्दै आइतबार १२ बजेसम्मका लागि विमानस्थलले समय सीमा तोकेको थियो ।

बक्यौता रकम उठाउन कठोर बन्दै गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार १२ बजेभित्र रकम नबुझाए जहाज ग्राउन्डेड गर्ने चेतावनी दिएपछि सौर्य एयरलाइन्सले १० लाख रुपैयाँ तिरेको छ ।

पटक पटक बक्यौता रकम तिर्न ताकेता गरे पनि अटेर गरेको भन्दै आइतबार १२ बजेसम्मका लागि विमानस्थलले समय सीमा तोकेको थियो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले १० लाख रुपैयाँ बैङ्कमा जम्मा गरेको खबर आएको बताए । ‘पैसा जम्मा गरेको खबर आएपछि तत्कालका लागि जहाज ग्राउन्डेड गर्नबाट रोकेका छौं, महाप्रबन्धक क्षेत्रीले भने, ‘बाँकी पैसा तत्कालै नदिए हामी ग्राउन्डेड गर्न बाध्य हुने छौं ।’ सौर्यले ५० लाख रुपैयाँ बुझाउने विमानस्थललाई जानकारी गराए पनि हाल १० लाख मात्र रकम जम्मा गरेको जनाएको छ ।

सौर्यले विमानस्थलाई सेवा शुल्कबापत लाग्ने करिब १ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेछ । यसअघि सौर्यले विमानस्थललाई १ करोड ६० लाख रुपैयाँ तिरिसकेको छ । सौर्यबाहेक अन्य एयरलाइन्सहरुको पनि बक्यौता रकम तत्काल नतिरे उनीहरुलाई पनि कारबाही गरिने उनले बताए ।

सौर्य एयरलाइन्सलाई केही महिनाअघि मात्र नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको हो । हाल सौर्यसँग एउटा जहाज छ । सो जहाजले दैनिक पाँच उडान गर्दै आएको छ ।