कम्बोडियाका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा दुई देशबीच हवाई सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कम्बोडियासँग हवाई सम्झौता गर्न कानुन र परराष्ट्र मन्त्रालयसँग आवश्यक राय माग गरेकोे छ । कम्बोडियाका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा दुई देशबीच हवाई सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।
मङ्सिर १३ गते कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन् । प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा हवाई सम्झौताका लागि कानुन र परराष्ट्र मन्त्रालयसँग राय माग गरिएको बताए । दुई मन्त्रालयको राय आएपछि मन्त्रिपरिषदको बैठकमा सम्झौताको प्रस्ताव लैजाने सहसचिव आचार्यको भनाइ छ । कम्बोडिया पनि हवाई सम्झौताका लागि तयार रहे पनि समझदारी भने केही समयपछि मात्र हुने बताइएको छ ।
कम्बोडियामा धेरै बौद्धधर्मावलम्बीहरु रहेका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयको भनाइ छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको सो विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा आइसक्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा लिइएको सो विमानस्थलको धावनमार्गको कालोपत्रे भइरहेको छ । विमानस्थलका निमित्त प्रमुख प्रवेश अधिकारीले द्रुत गतिमा काम बढेका कारण निर्धारित समयभन्दा केही महिनाअघि नै सञ्चालनमा ल्याउने तयारीमा आफुहरु रहेको बताए । विमानस्थलको क्षमता ठूला र साना गरी ५ ओटा जहाज अट्ने छ ।