मलेसिया खुलाउने भन्दै व्यवसायीसँग २० लाख माग्ने हनिफ भागे

हनिफका विरुद्ध व्यवसायीहरुले प्रहरीमा उजुरी गर्ने तयारी गरेपछि उनी आइतबार राति ९ः३० बजेको मालिन्दो एयरबाट मलेसिया जान लागेको अध्यागमन स्रोतले क्यापिटल नेपाललाई बतायो ।

बन्द रहेको मलेसियाको रोजगार खुलाउने भन्दै नेपालमा कामदारको स्वास्थ्य परिक्षण गर्ने बायोमेट्रिक मेडिकल व्यवसायीहरुसँग प्रति मेडिकल २० लाख माग्ने बंगालीमूलका मलेसियन नागरिक मोहम्मद अबु हनिफ बिन मोहम्मद अबुल कासिमका विषयमा समाचार प्रकाशित भएपछि आइतवार राति नेपाल छोडेर भाग्न लागेका छन् ।

हनिफका विरुद्ध व्यवसायीहरुले प्रहरीमा उजुरी गर्ने तयारी गरेपछि उनी आइतबार राति ९ः३० बजेको मालिन्दो एयरबाट मलेसिया जान लागेको अध्यागमन स्रोतले क्यापिटल नेपाललाई बतायो । नेपाल र मलेसिया सरकारबीच श्रम समझदारीपछि पनि बन्द भएको मलेसिया खुलाउने भन्दै हनिफले नेपालका बायोमेट्रिक गर्ने स्वास्थ्य संस्थाको अनुगमन गर्दै २०÷२० लाख माग गरेका थिए । हनिफका विषयमा समाचार प्रकाशित भएपछि दुईसाताका लागि नेपाल आएका उनी आइतबार नै नेपाल छाड्न लागेका हुन् ।

उनलाई नेपालमा उपराष्ट्रपतिका छोरा, श्रममन्त्री गोकर्ण विष्टको नजिकका व्यवसायी पूजा चन्द ठकुरी, रघु पुरी र मलेसियामा बस्ने सन्तोष कार्कीले सहयोग पुर्याइरहेका थिए । हनिफले मलेसियाका रोजगार डिसेम्बरभित्र खुल्ने र नयाँ व्यवस्था हुन लागेकोले त्यसको जिम्मा आफुले पाएको भन्दै पैसा उठाउन नेपाल आएका थिए ।

सरकारी पहलपछि पनि मलेसिया नखुलेपछि उनले बार्गेनिङ शैलीमा पैसा मागेका थिए हामीले उनकै अगाडी प्रहरीकोमा उजुरी गर्ने भनेपछि हच्किएका थिए, एक स्वास्थ्य व्यवसायीले क्यापिटल नेपाललाई बताए । उनलाई एक व्यवसायीले रेन्जरोभर गाडीले एयरपोर्ट छोडेको थियो ।

श्रममन्त्री विष्टले गत जेठ २ गते मलेसिया जाने कामदारसँग ठगी गरेको भन्दै पाँच संस्थालाई खारेजी गर्दै कारवाहीको दायरामा ल्याएका थिए । ६ महिना बन्द भएको रोजगारी खुलाउनका लागि कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भएको थियो । श्रम समझदारीपछि पनि मलेसियाको रोजगार अझै खुलेको छैन ।