कात्तिक २० गते अनलाइन कारोबारको विधिवत उद्घाटन गरेर अघि बढेपनि त्यसप्रति लगानीकर्ताको खासै रुची देखिएको छैन । त्यसयता कारोबार भएका सात दिनमध्ये ५ दिन बजार घटेर बन्द भएको छ ।
धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । कात्तिक २० गते अनलाइन कारोबारको विधिवत उद्घाटन गरेर अघि बढेपनि त्यसप्रति लगानीकर्ताको खासै रुची देखिएको छैन । त्यसयता कारोबार भएका सात दिनमध्ये ५ दिन बजार घटेर बन्द भएको छ ।
कात्तिक २० गते १२२२ दशमलव ५३ अङ्कमा रहेको नेप्से यसबीचमा करिब ३३ अङ्कले घट्दै ११८९ दशमलव ५६ अङ्कमा सोमबारको कारोबार रोकिएको छ ।
खासगरी यसअवधिमा सूचीकृत कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो तीन महिना (असोज)सम्मको वित्तीय विवरण सार्वजनिक भएको र ती कम्पनीहरुको नाफा मनग्ये देखिएपनि बजारमा सुधारको गुञ्जायस देखिएको छैन । खासगरी वाणिज्य बैङ्कहरुले थिचिएको नेपालको सेयर बजारमा यस वर्ष उनीहरुले बोनस सेयर नदिई नगद लाभांश दिन जोड गरेपछि बजार घट्नेतर्फको ट्रेन्ड समातेको हो ।
बजारले यसअघि गत साता सोमबारको ११९३ दशमलव ३४ अङ्कलाई छाडेर घट्ने क्रम अघि बढेकाले बजार अझै तल झर्ने देखिन्छ । सेयर बजारको चाप, लगानीकर्ताको मनोबल र वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावका कारण बजार अझ घट्ने देखिन्छ । यसअघि २०७५ भदौ १७ को सूचकभन्दा तल झरेको छ । त्यसदिन नेप्से ११९० दशमलव २८ अङ्कमा थियो । यो अंकमा त्यसअघि २०७५ साउन १५ मा पनि थियो । यसआधारमा हेर्दा कुनै प्रकारको हौवा नआए बजार केही दिन वियरिस ट्रेन्डमै जाने सम्भावना देखाउँछ ।
सोमबार कारोबार भएका नेप्सेमा वर्गीकृत ९ उपसमूहमध्ये २ उपसमूहबाहेक अन्य उपसमूको सूचक घटेपछि समग्रमा नेप्से नै ५ दशमलव ९ अङ्कले घटेको हो । यसदिन नेपाल बैङ्कमा लगानीकर्ताले चासो राख समग्र कारोबार भने २१ करोड २९ लाखमा खुम्चिन पुगेको छ । आइतबार भने नेप्से १० अङ्कले घट्दा ३३ करोड रुपैयाँको काराबोर भएको थियो ।