तीन दिनपछि सुधार भएको नेप्सेमा २६ करोडको कारोबार

१ हजार १ सय ८२ दशमलव १७ अङ्कबाट सुरु भएको नेप्से १ अङ्क बढेर १ हजार १ सय ८२ दशमलव ७४ अङ्क कायम भएको छ ।

सातामा लगातार तीन दिनको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सामान्य अङ्कले सुधार आएको छ । १ हजार १ सय ८२ दशमलव १७ अङ्कबाट सुरु भएको नेप्से १ अङ्क बढेर १ हजार १ सय ८२ दशमलव ७४ अङ्क कायम भएको छ ।

काराबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ६ अङ्क घटेपछि बढ्न थालेको थियो । त्यसपछि पनि तीव्र उतराचढावका बीच घटबढ हुँदै अन्त्यमा सामान्य अङ्कले सुधार आएको हो ।

आज नेप्सेमा १ सय ५१ कम्पनीका ३ हजार ३ सय ७० कारोबारबाट ८ लाख ५२ हजार ७ सय ६८ कित्ता सेयर खरिदबिक्री भई २६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा ९ करोडले बढी हो ।

मङ्गलबार नेप्सेमा १ सय ४५ कम्पनीका ३ हजार कारोबारबाट ५ लाख ६६ हजार सेयर खरिदबिक्री भई १७ करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

बुधबार नेप्सेमा कारोबार भएका १० समूहमध्ये ५ समूहमा सुधार आएपछि नेप्सेमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो । आज सबैभन्दा बढी ३० दशमलव ६५जीवन बिमा कम्पनी, विकास बैङ्क ८ दशमलव १३, अन्य २ दशमलव २७ र बैङ्किङ १ दशमलव २२ अङ्कले बढेका छन् । यस्तै आज सबैभन्दा बढी होटल २२ दशमलव ९३, जलविद्युत ११ दशमलव ८७, उत्पादनमूलक ९ दशमलव ३४ अङ्कले घटेका छन् ।

तीनदिन पछि सामान्य सुधार आएको नेप्सेमा आज साङ्ग्रिला विकास बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ४ दशमलव २९ प्रतिशतले बढेको छ भने एभरेष्ट इन्योरेन्सको सेयर मूल्य ७ दशमलव ४० प्रतिशतले घटेको छ ।