एसीआईले पहिलो पटक सुरु गर्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

एसीआईले दिएको सुझावलाई कार्यान्वयन गर्दा २०१९ मा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) सेफ्टी अडिटलाई समेत सहयोग पुग्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, पूर्वाधार तथा सेवा सुविधालगायतका विषयमा अध्ययन सुरु भएको छ । पहिलो पटक एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को विज्ञ समूहद्वारा विमानस्थलको निरीक्षण सुरु भएको हो । विज्ञ समूहले मङ्गलबारबाटै अध्ययन सुरु गरिसकेको छ ।

विज्ञ समूहले ५ दिन लगाएर विमानस्थलको अध्ययन निरीक्षण गर्ने छ । अध्ययनपछि विमानस्थललाई गाइड लाइन उपलब्ध गराउने छ । विज्ञले दिएको गाइड लाइनका आधारमा विमानस्थलले सुधार गर्नुपर्ने विषयहरु सुधार गर्दै जाने र आवश्यक संरचनाहरु थप गर्दै जाने महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थलको अनुगमनमा इर्मेन्दो सिल्भा, राजेश नुम्बायुड्याथ, मोहम्मद फैजल अब्दुल करीम, डिन्क गेउकेने, महादेवा भेरियर गिरीसन, पूभेल्ली सुकुमारन अजित कुमार र राकेश कुमार सहभागी भएका छन् ।

एसीआईले दिएको सुझावलाई कार्यान्वयन गर्दा २०१९ मा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) सेफ्टी अडिटलाई समेत सहयोग पुग्ने छ । आईकाओले गर्ने अडिटमा राम्रो पोजिसनमा पुगेमा युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हटाउनसमेत सहयोग पुग्ने भएकाले यो निरीक्षण नेपालका लागि लाभदायी हुने विश्वास महाप्रबन्धक क्षेत्रीको छ ।

आईकाओले २०७४ साउनमा नेपाललाई कालोसूचीबाट हटाएको थियो । तर ईयूले अझै नेपाललाई कालोसूचीबाट हटाएको छैन । ईयूले कालोसूचीबाट नहटाएकै कारण नेपाली जहाजहरु युरोपियन मुलुकमा उडान भर्न पाएका छैनन् ।