श्रम मन्त्रालयले भन्यो, मलेसियाको रोजगारी खुलेको छैन, केहि दिन लाग्छ

मलेसिया जाने कामदारको कलिङ भिसा आएको हकमा भिसा स्ट्याम्पिङ सुरु भएको भन्ने विषयलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ ।

लामो समय देखी रोकिएको मलेसियाको रोजगारीमा कलिङ भिसा लागेका कामदारको भिसा स्ट्याम्पिङ भएको भन्दै केहि म्यानपावर कम्पनीले प्रक्रिया सुरु गर्न थालेपछि मन्त्रालयले विज्ञप्ती निकालेर प्रक्रिया सुरु नभएको र हल्लाको पछि नलाग्न अनुरोध गरेको हो ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका प्रवक्ता नारायण रेग्मीले बुधवार साँझ विज्ञप्ती जारी गर्दै नेपाल सरकार र मलेसिया सरकारबीच भएको ऐतिहासिक श्रम समझदारी पछि सहमती भएका विषयलाई प्रक्रियागत हिसाबले अन्तिम टुंगो लगाउने काम भैरहेको उल्लेख गरेका छन्् ।

क्लिङ भिषा आइसकेका मात्रै नभएर नयाँ कामदार जाने हकमा पनि दुवै सरकारले आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरकारले सार्वजनिक सुचना जारी गरेरै सबैलाई जानकारी गराउँने विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकार र मलेसिया सरकाबीच श्रम समझदारी पछि रोजगारी खुल्ने बताएपनि करिब १ महिना हुन लाग्दा समेत खुलेको छैन् ।

मन्त्रालयले केहिदिनमा सबै प्रक्रिया पुरा गरेर सार्वजनिक रुपमा मलेसियाको रोजगारी खुलेको जानकारी गराउनेसमेत जनाएको छ ।

नेपालस्थित मलेसियाका निमित्त राजदुत अहमद फादिल इस्माइलले नेपाल र मलेसियाको श्रम समझदारीपछि कलिङ भिसा रोक्नु आवश्यक नरहेको बताएका छन् । उनले कलिङ भिसा रोक्नुपर्ने कुनै कारण नभएको भन्दै मलेसियाको भिसासँग सम्बन्धित संस्थालाई कलिङ भिसाको काम सुचारु गर्नका लागि पत्राचारसमेत गरेका छन् ।