बिहीबार नेप्सेमा एनआईसी एसिया ग्रोथ फन्डको सेयर मूल्य सबैभन्दा बढी ११ दशमलव ११ प्रतिशतले बढेको छ भने सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ दशमलव ६० प्रतिशतले घटेको छ ।
लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिएको एनएमबी बैङ्कको सार्वधिक कारोबार भएको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्सेमा एनएमबीको सार्वधिक ७ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये ६ समूहको सूचक उकालो लागे पनि बैङ्किङ र जीवन बिमा समूह ओरालो लाग्दा नेप्से ओरालो लागेको हो । सबैभन्दा बढी होटल ३३ दशमलव ६४ अङ्कले बढेको छ भने उत्पादनमूलक ६ दशमलव २८, जलविद्युत ५ दशमलव ३३, अन्य ३ दशमलव ५७ अङ्कले बढेको छ । यस्तै निर्जीवन बिमा, फाइनान्स समूहमा पनि सामान्य सुधार आएको छ ।
नेप्से घटेको दिन आज सबैभन्दा बढी २६ दशमलव ०१, लघुवित्त ६ दशमलव ७७, विकास बैङ्क २ दशमलव २९, बैङ्किङ २ दशमलव ६२ अङ्कले घटेको छ ।
बिहीबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक ३ अङ्क तल झरेपछि सुधारको बाटो लागेको थियो । घटेको अवस्थामै २ अङ्क सुधार भएको नेप्से त्यसपछि फेरि घट्दै १ दशमलव १४ अङ्क घटेर बन्द भएको हो । बिहीबार नेप्सेमा १ सय ४३ कम्पनीका ४ हजार कारोबारबाट ७ लाख ७४ हजार कित्ता सेयर किनबेच भई २५ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा १ करोडले कम हो ।
बुधबार नेप्सेमा १ सय ५१ कम्पनीका ३ हजार ३ सय ७० कारोबारबाट ८ लाख ५२ हजार ७ सय ६८ कित्ता सेयर खरिदबिक्री भई २६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
बिहीबार नेप्सेमा एनआईसी एसिया ग्रोथ फन्डको सेयर मूल्य सबैभन्दा बढी ११ दशमलव ११ प्रतिशतले बढेको छ भने सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ दशमलव ६० प्रतिशतले घटेको छ ।