भ्रमण वर्ष सफल बनाउन युनिक मार्केटिङ गर्नुपर्छ :  सुरज वैद्यसँगकाे अन्तर्वार्ता

छोटो समयमा ठूलो जिम्मेवारी लिनुपरेका कारण केही चुनौती पक्कै छन् । नेपालमा धार्मिक पर्यटक फस्टाउने सम्भावना धेरै छ । त्यसैले त्यस क्षेत्रका साथीलाई समेट्न आवश्यक छ ।

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा नियुक्त सुरज वैद्य सार्क उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष हुन् । २०१९ सालमा काठमाडौंमा जन्मिएका वैद्यले दार्जिलिङमा विद्यालय तहको पढाइ र जर्ज मेसन विश्वविद्यालय, अमेरिकाबाट एमबीए पास गरेका छन् । सन् १९८४ बाट व्यावसायिक करिअर थालेका उद्योगी वैद्य नेपाल उद्योग वाणिज्य महासङ्घमा २५ वर्षदेखि सङ्गठित छन् । सार्क चेम्बर टुरिजम काउन्सिल कमिटीका पूर्वसभापतिसमेत रहेका उनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष हुन् । वैद्य परिवारले नै ५५ वर्षअघि नेपालमा पहिलो पटक टोयोटा गाडी भित्र्याएको थियो । वैद्य अर्गनाइजेसन टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो । अटोमोबाइलका अतिरिक्त चिया बगान, पर्यटन, निर्माण, शिक्षालगायत क्षेत्रमा लगानी गरेका वैद्य अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने नेपाली व्यवसायीका रुपमा परिचित छन् । भ्रमण वर्षलाई सफल बनाउन संयोजक वैद्यको रणनीति कस्तो छ ? क्यापिटलका प्रकटकुमार शिशिर र सुवास योञ्जनले वैद्यसँग गरेको कुराकानीको सम्पादित अंश :

सरकारले तपाईलाई हालै भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकका रुपमा नियुक्त गरेको छ । यसलाई तपार्इंले कसरी लिनुभएको छ ?

मेरा लागि यो चुनौतीको विषय हो । पर्यटन क्षेत्रभन्दा बाहिरको मान्छे भएकाले मेरा लागि यो पद चुनौतीपूर्ण पनि बनेको छ । पर्यटनमन्त्रीज्यूले चुनौतीलाई पार गर्दै मलाई जिम्मेवारी दिनुभएको छ । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु । र, मैले देशका लागि केही योगदान गर्न सक्छु भन्ने देखेर नै सरकारले ठूलो जिम्मेवारी दिएको छ । म त्यो पूरा गरेरै देखाउँछु ।

भ्रमण वर्ष २०२० घोषणा गरेको करिब ६ महिनापछि राष्ट्रिय संयोजक तोकिएको छ । समय पनि छोटो छ । संयोजक तोक्न पनि ढिला भएको सरकारी निर्णय र अरु काम गर्ने शैलीमा तपार्इं निजीक्षेत्रका विभिन्न नेतृत्वमा बसेको मान्छेले सही समयमा सही काम गर्न सक्छु जस्तो लागेको छ ?

हामी नेपाली हौं । नेपालमा बसेर नेपालको काम गर्ने तरिका हामी सबैले बुझेका छौं । कमीकमजोरी धेरैका छन् । राष्ट्रिय संयोजक चुन्न के कारणले ढिला भयो, त्यो सरकारको विषय हो । तर धेरै निजीक्षेत्रका साथीहरुको अन्योलताका कारण ढिलाइ भएको हुन सक्छ । नेपालमा सबैलाई पद चाहिन्छ । तर उनीहरुले काम कहिल्यै गर्दैनन् । त्यही भएर सरकारले संयोजक चुन्न ढिला भएको हो । भ्रमण वर्ष २०२० आउन यति छोटो समय छ कि चानचुने रुपले जिम्मेवारी लिन सक्ने अवस्थै छैन । मैले त्यो सबै जोखिम मोलेर जिम्मेवारी लिएको हुँ । छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था छ ।

निजीक्षेत्रको भूमिका भनेको हामीले सक्ने काम ठीक समयमै गर्ने र सरकारले त्यसलाई सहयोग गर्दै लैजानु आवश्यक छ । यो कार्यक्रम बजेटमै समावेश भएको हुनाले विशेष प्राथमिकताको कार्यक्रम हो । भिजिट नेपाल २०२० लाई सरकारले अर्कै दृष्टिकोणले हेरेको छ भन्ने आशा लिएको छु ।

पर्यटन क्षेत्रभन्दा बाहिरकालाई संयोजक बनाएको विषयमा केही पर्यटन व्यवसायीले विरोध गरेको सुनिन्छ, उनीहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

मलाई लाग्छ, पर्यटन भनेको आम जनतालाई छुने विषय हो, पर्यटन व्यवसायीलाई मात्र होइन । भ्रमण वर्ष पर्यटन व्यवसायीको मात्र हो भन्ने भ्रम छ । त्यस्तो भ्रम त्यागेर यो समग्र नेपालीको हो र यसमा हामी सबैको दायित्व छ भन्ने भावना हुर्नुपर्छ । पर्यटन र कृषिले नेपाललाई छुन्छ । त्यसैले सबैलाई समेटेर लैजान सहज छैन । तर पर्यटन व्यवसायीमा संलग्न साथीहरुको सुझाव लिएर पर्यटन क्षेत्रको विकासका लागि केके गर्न सकिन्छ र कस्ताकस्ता समस्या छन् भन्ने जानकारी लिएर उहाँहरु सबैको सहकार्यमा मेरो कामलाई अगाडि बढाउँछु । छोटो समयमा ठूलो जिम्मेवारी लिनुपरेका कारण केही चुनौती पक्कै छन् । नेपालमा धार्मिक पर्यटक फस्टाउने सम्भावना धेरै छ ।

त्यसैले त्यस क्षेत्रका साथीलाई समेट्न आवश्यक छ । खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सहयोग पुग्छ । त्यसैले फुटबल, क्रिकेटका साथीहरुलाई पनि सहभागी गराउँछु । यसमा ८० प्रतिशत पर्यटनका साथी र २० प्रतिशत बाहिरका साथीहरुलाई समेटेर लैजानेछु । विभिन्न क्षेत्रको ब्रान्डिङको पनि आवश्यकता छ । जस्तो होटल, पर्यटकीय स्थल र ट्रेकिङ रुटको ब्रान्डिङ गरी प्रचारप्रसार गर्नु आवश्यक छ । अहिले सामान्य विरोध हुनु स्वाभाविक पनि हो । म काम गरेर देखाउँछु । त्यसको लाभ सबैलाई हुन्छ ।

२०७२ को भूकम्पले नेपालका धेरै सांस्कृतिक सम्पदा ध्वस्त भएर पुनर्निर्माणको चरणमा छन् । लोन्ली प्लानेटले विश्वका १० घुम्ने गन्तव्यभित्र पाँचौंमा काठमाडौंलाई घोषणा गरे पनि यहाँ घुम्न आउनेहरुलाई विशेष के देखाउने भन्ने यकिन नै छैन, यस्तो अवस्थामा पर्यटन क्षेत्रबारे कस्तो सन्देश जाला ?
सरकारले घोषणा गरिसक्यो, घोषणा गरेका आधारमा अघि बढ्नुबाहेक अरु कुनै विकल्प छैन । समस्या धेरै छन्, तिनलाई कसरी समाधान गर्ने भन्नेबारे पनि हामीले सोच्नुपर्छ । भूकम्पले क्षतिग्रस्त संरचना निर्माणलाई थप सहयोग पुर्याउनकै लागि यो भ्रमण वर्षले सहयोग पुर्याउन सक्छ कि ? या हाम्रा भत्किएका सम्पदा बनिरहेको छ, त्यसैलाई पो देखाउने हो कि ? समस्या धेरै छन्, ती समस्याहरुलाई ब्रान्डिङ गर्न सक्यो भने त्यही आकर्षक बन्न सक्छ । त्यसतर्फ ध्यान दिनु आवश्यक छ । मेरो ध्यान त्यसैतर्फ बढी हुन्छ । यो नकारात्मक विषयलाई सकारात्मकतातर्फ कसरी उन्मुख गराउने भन्नेमा पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

यस क्षेत्रको सुधारकै पक्षमा पनि लाग्नु पनि पर्छ होला नि ?

नेपालको पर्यटन क्षेत्रको सुधार गर्न केही समय लाग्छ । अहिले देशमा तीन तहको सरकार छ । पर्यटनको सन्दर्भमा त झन् तीन सरकारले धेरै नै समस्या पारिदिएका छन् । सङ्घीय सरकारले के गर्ने, प्रदेश सरकारले के गर्ने र स्थानीय सरकारले के गर्ने भन्ने स्पष्ट कानुन बन्न सकेको छैन । अहिले हरेक प्रदेशमा पर्यटन क्षेत्रका लागि बजेट विनियोजन भएका छन् । हरेक प्रदेशमा पर्यटनमन्त्री छन् । उनीहरुको भूमिका के हो र केन्द्रीय सरकारको भूमिका के हो भन्ने विषय अन्योलमा छ । त्यसैले हामी यो विवादमा नपरी भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यानलाई केन्द्रित गर्नेछौं ।

सन् २०१९ सुरु हुनै लाग्यो । २०१९ मै प्राथमिकतामा राखेर गर्नुपर्ने कामको योजना बनाउनुभएको होला नि ?

भ्रमण वर्ष २०२० भनिए पनि २०१९ लाई पर्यटन क्षेत्रको लगानी वर्षका रुपमा मनाउँछौं, जसले गर्दा सात प्रदेशमा रहेका सम्भावनाको खोजी गरी नमुना परियोजनाका रुपमा अघि सार्नेछौं । ती परियोजना बनाउन केन्द्र, प्रदेश र स्थानीय तहले कस्तो भूमिका निर्वाह गर्न सक्छन्, त्यस विषयमा छलफल गर्छौं । र, लगानीकर्तालाई लगानीका लागि आह्वान गर्छौं, जसले गर्दा पर्यटन क्षेत्रमा लगानी बढ्दै जान्छ । हेर्दा दुई वर्ष बाँकी रहे पनि यो समय निकै छोटो हो । त्यसैले हामी फास्ट ट्र्याकमा काम गर्दै छौं । सात प्रदेशमा लगानी लैजाने, लगानीकर्ता जुटाउने र पर्यटन क्षेत्रलाई नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १५ देखि २० प्रतिशत ओगट्न सक्ने क्षमताको बनाउने मुख्य उद्देश्य छ । हामीले सात प्रदेशका सातै प्रोजेक्टको अध्ययन गर्छौं ।

हाम्रो अध्ययनलाई स्थानीय, प्रदेश वा केन्द्र सरकारले पर्यटन क्षेत्रको पूर्वधार निर्माणका लागि जग्गा उपलब्ध गराओस् । पर्यटकका हिसाबमा हामीले जोखिम मोल्नु आवश्यक छ । हामीले बनाउने संरचना ५० वर्षपछि सरकारलाई नै फिर्ता दिने हो । त्यसमा सरकारले सहयोग गर्न आवश्यक छ । लगानी हामी जुटाउन तयार छौं । मलाई २०२० मा सफल हुन समस्या होला । तर पर्यटन भनेको २०२० मा मात्र हुँदैन, यो त निरन्तर चलिरहन्छ । त्यसैले मैले यो सुरुवात गर्ने हो । भोलिका दिनमा सरकारले त्यसलाई निरन्तरता दिँदै लैजाओस् ।

२०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएको छ । सरकारले १९९८ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपनि ४ लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पर्यटकको लक्ष्य राखेकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटक मात्र नेपाल भित्रिए । तपाईंको विचारमा २० लाख पर्यटक नेपालमा भित्र्याउन सम्भव छ वा योभन्दा धेरै आउँछन् ?

२०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना सहज छैन । किनकि अहिले हामीसँग एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसलाई चौबीसै घण्टा सञ्चालन गर्दा पनि पर्यटकको आगमन थेग्न सक्दैनौं । जति अन्तर्राष्ट्रिय उडान नेपालमा हुन्छन्, त्यति नै नेपालभित्र पनि आन्तरिक उडान हुन्छ । यो विमानस्थलले सोचे जस्तो हवाई यात्रुलाई सेवा दिन सक्दैन । त्यसैले सडकमार्गलाई मजबुत बनाउनु आवश्यक छ । त्यसका लागि भारत र चीनका पर्यटकलाई सडकमार्गबाट ल्याउन सजिलो हुन्छ । यस विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।

हामी फास्ट ट्र्याकमा काम गर्दै छौं । सात प्रदेशमा लगानी लैजाने, लगानीकर्ता जुटाउने र पर्यटन क्षेत्रलाई नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १५ देखि २० प्रतिशत ओगट्न सक्ने क्षमताको बनाउने मुख्य उद्देश्य छ ।

हुन त केही समयपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारीमा आएको छ । यदि सो विमानस्थल सञ्चालनमा आयो भने पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्छ । विमानस्थल सञ्चालनमा आउनु भनेको अन्तर्राष्ट्रिय प्रवेशमार्ग सञ्चालनमा आउनु जस्तै हो । त्यसैले २० लाख होइन, त्योभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ । तर अहिलेको सन्दर्भमा सडकमार्गबाट आउने पर्यटकलाई नै बढी प्राथमिकता दिनु आवश्यक छ । धार्मिक पर्यटकलाई नेपाल भित्र्याउन हाम्रो प्रयास रहनेछ । विभिन्न चाहना भएका साथी पर्यटन क्षेत्रमा रहेका कारण उनीहरु सबैका आआफ्नै चाहना हुन्छन् । तर मेरो विचारमा नेपाल आउने सबै किसिमका मानिस पर्यटक हुन्, चाहे ऊ जहाजमा आओस् या गाडीमा अथवा हिँडेर नै किन नहोस् ।

केही सकारात्मक विषय पनि छन् । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार होटलमा २५ लाख कोठा छन् । १० ओटा पाँचतारे होटल थपिँदै छन् । नयाँ गन्तव्य थपिएका छन् । एयरपोर्ट बन्दै छ । यस्तो अवस्थामा नेपालको पर्यटन क्षेत्र बुम हुने अवस्थामा पुगेको छ । यी सबै हेर्दा समन्वय अभाव मात्र कम देखिन्छ । सरकार र निजीक्षेत्रसँग कसरी समन्वय गरेर अघि बढ्नुहुन्छ ?

म निजीक्षेत्रको मान्छे हुँ । तर पर्यटन व्यवसायी होइन । निजीक्षेत्रको भए पनि म राजनीतिक दलको मान्छे होइन । त्यसैले मलाई केही सहज हुन्छ । म पर्यटन व्यवसायी भएको भए, पक्कै मेरो क्षेत्र कुन हो, त्यसलाई मात्र बढी फोकस गर्थें होला । त्यस्तो बेलामा सरकारसँग विभिन्न प्रस्ताव राख्न समस्या हुन्थ्यो— कतै मैले राखेको प्रस्तावमा केही स्वार्थ छ कि भन्ने । मलाई लाग्छ, सरकारले त्यही सोचेर नै मलाई नियुक्त गरेको हुन सक्छ । मलाई केही स्वार्थ छैन । यसले सरकार र निजीक्षेत्रबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास छ ।

अन्तर्राष्ट्रिय रुपमा तपाईंको सम्बन्ध पनि राम्रो छ । तपाईं सार्क चेम्बर अफ कमर्सदेखि टुरिजम काउन्सिलरमा पनि हुनुहुन्छ । धेरै देशसँग नेटवर्क छ । यो प्लेटफर्मलाई तपाईं कसरी प्रयोग गर्नुहुन्छ । योजना के छ ?

२० लाख पर्यटक भित्र्याउन हाम्रो मेन फोकस चीन र भारतमै हुनु आवश्यक छ । मेरो अनुभव र सम्बन्धका कारण ती देशमा विभिन्न कार्यक्रम परिचालन गर्न सहज हुन्छ । त्यहाँका उद्यमी र सरकारसँग मेरो राम्रो सम्बन्ध छ । त्यसकारण मैले सहजै नेपालको विषयमा भन्न सक्छु । र उनीहरुलाई थाहा छ, मैले सुरु गरेको अभियान सकरात्मक हो । यसमा सहयोग गर्नुपर्छ भन्ने भावना उनीहरुसँग छ । केही दिनअघि मात्र भारतीय राजदूत मञ्जीव सिंह पुरीसँग भेट भएको थियो । भेटमा उहाँले मलाई भन्नुभएको छ— २० लाख पर्यटक भित्र्याउन कुनै तनाव लिनु आवश्यक छैन । चीनमा पनि मेरा धेरै साथी छन् । उनीहरुको सहयोगमा प्रचारप्रसार गरी चिनियाँ पर्यटक सहजै भित्र्याउन सकिन्छ ।

नेपालसँग नाका जोडिएका चीन र भारतका सडकको अवस्था राम्रो छैन । यस्तो अवस्थामा कसरी पर्यटक आउलान् ?

केही समयभित्रै चिनियाँ पर्यटनमन्त्री नेपाल आउने भन्ने सुनेको छु । त्यतिखेर सायद भ्रमण वर्षका विषयमा पनि छलफल हुन्छ होला । उहाँसँग चिनियाँ नाका सञ्चालनका लागि नेपालले प्रस्ताव अघि सार्छ भन्ने विश्वास लिएको छु । जबसम्म नेपालका सबै मन्त्रालय र निकायलाई पर्यटन क्षेत्र हाम्रो पनि हो भन्ने भावना जागृत हुँदैन, तबसम्म तत्काल सुधार हुने सम्भावना छैन । पछिल्लो समय अन्तरमन्त्रालय समन्वय अभावका कारण समस्या देखिएको हो । त्यसैले सरकारले यस विषयमा पनि केही छलफल गर्छ भन्ने आशा लिएको छु ।

भ्रमण वर्षको प्रमोसनका लागि पर्याप्त बजेट छैन । अन्तर्राष्ट्रिय मार्केटमा प्रचार नहुँदा कस्तो समस्या होला ? र प्रमोसनको पाटोमा के देख्नुहुन्छ ?

अब हामी ट्रेडिसनल मार्केटिङबाट मुक्त हुनु आवश्यक छ । सोसल मिडिया अहिले धेरै पावरफुल छ । त्यसलाई कसरी प्रयोगमा ल्याउन सक्छौं भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौं । प्रिन्ट मिडियालाई पनि साथमै राखेर सोसल मिडियालाई बढी मात्रामा प्रयोग गर्ने हाम्रो तयारी हो । नेपालमा रहेका सोसल संस्थाहरुलाई सक्रिय बनाउने मेरो अभियान हो । ती संस्थामार्फत प्रचारप्रसारलाई तीव्रता दिने हो । सम्भव भएसम्म २०१९ भित्रै भारत र पाकिस्तानबीचको क्रिकेट खेल काठमाडौंमा गर्ने सोचमा अघि बढेको छु । त्यो सफल भए २०२० मा बृहत् खालको क्रिकेट खेल गराउने योजना छ । मार्केटिङ गर्दा केही युनिक हुनुपर्छ । हामीले काम गर्दा समाचारसँगै प्रचार हुने खालको गर्ने हो, जसले गर्दा विश्वको ध्यान नेपालमा जाओस् ।

नेपाल आउने पर्यटकले धेरै समस्या भोग्दै आएका छन् । सामान्य रुपमा हेर्दा पनि पर्यटकीय क्षेत्रमा भारतीय माग्नेहरुका कारण पर्यटकले समस्या भोगेका छन् भने विदेशबाट सिनेमा सुटिङ गर्न आउनेलाई पनि ड्रोन उडाउन झन्झट छ । ट्रेकिङ रूटमा परमिट शुल्क बढेको छ । यस्ता समस्या समाधानका लागि तपाईंको भूमिका कस्तो रहन्छ ?

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रीज्यू निकै सक्रिय हुनुहुन्छ । मन्त्रीज्यूले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्बाटै निर्णय गरेर विशेष कमिटी बनाउन आवश्यक छ, जुन कमिटीले हरेक समस्या समाधानदेखि निर्णय लिन सक्नेसमेत अधिकार पाओस् । यस्तो समिति भएन र त्यसको निर्णय छिटो गर्न नसके फेरि हामी पछि पर्छौं । र सातै प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्रीसँग बसेर यस विषयमा छलफल र समन्वयलाई पनि अघि बढाउनेछौं । पर्यटन क्षेत्रले नेपालको जीडीपीमा ठूलो योगदान पुर्याउन सक्छ । अहिलेका युवा रचनात्मक छन् । उनीहरुलाई पर्यटन क्षेत्रमा संलग्न गराउन सकेनाैं भने यस क्षेत्रको विकास सम्भव छैन ।