जथाभावी पार्किङबाट एयरपोर्ट मुक्त

एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारबाट सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सरेको छ । एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको हो ।

निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुहरुलाई असुविधा हुने गरेको गुनासो बढेपछि विमानस्थलले ती साधनहरुको व्यवस्थापन पार्किङ भवनमा सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सवारीसाधनलाई पार्किङ भवनमा व्यवस्थित तरिकाले राख्ने काम पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अस्तव्यस्त रहेको ट्याक्सी पार्किङलाई व्यविस्थत बनाई यात्रुहरुलाई ठगी हुनबाट जोगाउनु पर्ने उनको भनाइ छ ।

हाल रहेको पार्किङस्थलमा भीआईपीका गाडी पार्किङ हुने छन् । साथै त्यस आसपासमा लेन निर्माण गरी यात्रुहरुलाई सहज बनाउने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । पूर्ण रुपमा व्यवस्थित हुनका लागि करिब एक साता लाग्ने उनको भनाइ छ ।

एयरपोर्टको माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० ओटा र कालो नम्बर प्लेट भएका १० ओटा मात्रै ट्याक्सी हुन्छन् । एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ । त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सी माथि उक्लिन्छ । त्यसो हुँदा ट्याक्सीबाट चल्दै आएको लुट पनि अन्त्य हुने क्षेत्रीको भनाइ छ । त्यसैगरी, निजी गाडीले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्छ । आफ्ना पाहुना विदेशबाट आएपछि पार्किङ गरिएको ठाउँबाट गाडी एयरपोर्ट आउने गर्छन् ।

अहिले निजी गाडी, हरियो नम्बर प्लेट र कालो नम्बर प्लेटका ट्याक्सीले एयरपोर्टको रुप नै बिगारिसकेका छन् । ती सवारीसाधनलाई पार्किङ गर्न बनाइएको भवनमा राख्नेबित्तिकै एयरपोर्ट सफा हुने क्षेत्रीको दाबी छ ।