लगानीकर्ताहरुले आफूहरुलाई कुनै तालिम नचाहिने बरु छिटो युजरनेम र पासवर्ड दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । लगानीकर्ताहरुले युजरनेम र पासवर्ड दिएमा आफ्नो सम्पत्ति हानिनोक्सानी वा कमाइ जे भए पनि त्यसको भागीदार आफहरु नै हुने बताउँदै आएका छन् ।
काठमाडौं : नेपालको धितोपत्र बजारको कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगानीकर्ताको समूहले धर्ना दिएको छ । बिहान १० बजेदेखि नै नेप्से प्राङ्गणमा भेला भएका लगानीकर्ताले छिटो आफूहरुलाई पासवर्ड र युजरनेम दिनुपर्ने भन्दै नारबाजी गरिरहेका छन् । कात्तिक २० गतेबाट अनलाइन कारोबार प्रणालीको सुरुपात गरेको नेप्सेले भने लगानीकर्तालाई अनलाइन कारोबारसम्बन्धी (मोक ट्रेडिङबारे) जानकारी दिएपछि मात्रै युजरनेम र पासवर्ड दिने बताउँदै आएको छ ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता सङ्घका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालसहित नेपाल पुँजीबजार सङ्घका पदाधिकारी तथा सदस्यहरु र सर्वसाधारण लगानीकर्तासमेत नेप्से प्राङ्गणमा भेला भएका छन् । नेप्से घेराउमा इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल भने उपस्थित छैनन् । लगानीकर्ताहरुले आफूहरुलाई कुनै तालिम नचाहिने बरु छिटो युजरनेम र पासवर्ड दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । लगानीकर्ताहरुले युजरनेम र पासवर्ड दिएमा आफ्नो सम्पत्ति हानिनोक्सानी वा कमाइ जे भए पनि त्यसको भागीदार आफहरु नै हुने बताउँदै आएका छन् ।
नेप्सेप्रति आक्रामक देखिएका लगानीकर्ताहरुको एक समूहले तोडफोड गर्ने योजना बनाए पनि सुरक्षा व्यवस्थाका कारण कुनै अप्रिय घटना भने भएको छैन । यद्यपि नेप्सेले गरिरहेका काममा धेरै बाधाअड्चन दिनुहुँदैन भन्ने गरेका र नेप्से अझै घटेर ९ सय अङ्कसम्म झर्छ भनेर सामाजिक सञ्चालमा प्रचारप्रसार गर्ने विष्णुप्रसाद बस्यालमाथि भने हातपात भएको छ । अहिले नेप्सेमा लगानीकर्ता सङ्घहरुका प्रतिनिधि र नेप्से प्रतिनिधिहरुबीच छलफल चलिरहेको बताइएको छ ।
लगानीकर्ताहरुका अनुसार आइतबार २ बजेदेखि नै नेप्सेमा कारोबार रोकिएको थियो । आजको कारोबारमा पनि मार्र्केट डेप्थको विवरण भने नेप्सेमा वेबसाइटमा देखिएको छैन । दिउँसो १२ः४० बजेसम्म ३ दशमलव ६६ अङ्क पार गर्दै ११६२ दशमलव ९२ अङ्कमा पुगेको छ ।