बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता लोभिएका हुन् ।
काठमाडौं : लगानीकर्ता लाभांशमा लोभिँदा मङ्गलबार एनएमबी बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मङ्गलबार बैङ्कको प्रतिकित्ता ३ सय ५८ रुपैयाँमा १ करोड ९४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता लोभिएका हुन् । बैङ्कले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उसको लाभांश दिने प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत हुन बाँकी छ । लाभांश घोषणापछि बैङ्कको सेयरमूल्य पनि उकालो लागेको छ ।
दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता २९६ मा १ करोड ६ लाख र एनसीसीको २०९ मा १ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
लगातार घट्दै गएको बजार मङ्गलबार १.६१ अङ्क बढेर नेप्से परिसूचक १ हजार १ सय ६१ अङ्कमा पुगेको छ । मङ्गलबार २३ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बैङ्किङ, होटल र जलविद्युत समूहको सेयरमूल्य बढेको छ ।