छानबिन समितिको प्रतिवेदनपछि एक्सनमा जान्छु : मन्त्री अधिकारी

विमान खरिदको विषयमा हाल संसदको दुई ओटा समितिले छानबिन गरिरहेका छन् ।

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी खरिद प्रक्रियाको विषयमा संसदीय समितिले दिएको प्रतिवेदनको आधारमा एक्सनमा जाने बताएका छन् । विमान खरिदको विषयमा हाल संसदको दुई ओटा समितिले छानबिन गरिरहेका छन् ।

ती समितिको प्रतिवेदनका आधारमा दोषी देखिएमा कसैलाई नछोड्ने बताउँदै हल्लाको भरमा अहिले नै कारवाही नगर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पर्यटनमन्त्री अधिकारीले साँचो कुरा नबुझी हल्ला गर्नेहरुको सङ्ख्या धेरै रहेकोले त्यसतर्फ नलाग्न र सत्यतथ्य बुझेर मात्र अघि बढ्न सबैलाई अनुरोध गरेका छन् ।

पछिल्लो समय नेपाल एयरलाइन्सलाई कमजोर बनाउन केही शक्तिहरु लागिपरेको बताउँदै त्यसका लागि सरकार कडा भएर लाग्ने बताए । नेपाल एयरलाइन्सले मागेको २० अर्ब रुपैयाँ तत्काल दिन नसक्ने बताउँदै आफै कमाएर आफैले सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

जहाज खरिदको प्रक्रिया २०७१ बाट सुरु भएको र आफू मन्त्री भएर आएको २/३ महिनामा जहाज आएका कारण खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको समेत स्पष्ट पारेका छन् । तर मन्त्रालयले पनि आन्तरिक रुपमा छानबिन गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए ।