जापानको ओसाकामा उडान भर्ने थप प्रक्रियाको विषयमा छलफलका लागि कान्साई एयरपोर्टका उपाअध्यक्ष इम्यानुल मेनेन्टाउ मङ्सिर १७ गते नेपाल आउन लागेका छन् ।
काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले आगामी माघ महिनादेखि जापान र चीनमा साताको तीन ओटा उडान भर्ने भएको छ । एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलले साताको तीन ओटा उडान भर्नका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
ती दुवै देशमा वाइडबडी ए ३३०–२०० विमानले उडान भर्ने छ । विमान भित्र्याउनुअघि नै बनाइएको व्यावसायिक प्लानअनुसार उडान गर्न नसकेपछि सर्वत्र आलोचना खेपिरहेको एनएसीले दुई ठूला देशमा उडान गर्न लागेको हो । पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यका रुपमा विकास भएको जापानमा यसअघि साना जहाजले उडान गर्दै आएका थिए ।
जापानको ओसाकामा उडान भर्ने थप प्रक्रियाको विषयमा छलफलका लागि कान्साई एयरपोर्टका उपाअध्यक्ष इम्यानुल मेनेन्टाउ मङ्सिर १७ गते नेपाल आउन लागेका छन् । यस्तै नेपालबाट पनि केही साताभित्रै जापानमा आवश्यक प्रक्रियाका लागि जाने तयारीमा रहेको एनएसीका कार्यकारी अध्यक्ष खरेलको भनाइ छ ।
यस्तै नयाँ गन्तव्यका रुपमा निगमले चीनमा उडान सुरु गर्न लागेको हो । चीनबाट पछिल्लो समय धेरै पर्यटकहरु नेपाल आउने गरिरहका बेला एनएसीले गोन्जाओमा उडान भर्न लागेको हो । एनएसीले जापान र चीनमा उडान गरेपछि साउदी अरब र दक्षिण कोरियामा उडान भर्ने योजना बनाएको छ ।
एनएसीले असार र साउनमा २ ओटा वाइडबडी ‘ए ३३०–२००’ विमान भित्र्याएको छ । जहाजमा बिजनेस क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् । प्रत्येक सिटको अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेनमेन्ट सिस्टम छ, जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, सङ्गीत तथा चलचित्र हेर्न सकिनेछ ।
एनएसीले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।