यसरी बन्दै छ कुस्मामा बिश्वकै दोस्रो अग्लो बञ्जीजम्प

विश्वकै सबैभन्दा ऊचाइमा अवस्थित स्काई साइक्लिङ र स्विङसँगै विश्वकै दोस्रो अग्लो बन्जी (७ सय ३५ फुट) भएकाले यो एसियाकै उत्कृष्ट गन्तव्य बन्ने अध्यक्ष कार्कीको विश्वास छ ।

पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमाथि २ सय २४ मिटर उचाइमा अहिले बन्जी जम्पका लागि पूर्वाधार निर्माण भइरहेको छ । गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १० मिनेट पर १५ करोड रुपैयाँ लगानीमा ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण हुँदै गरेको हो ।

बन्जीका लागि अहिले सीमाक्षेत्रमा पाँच सय १५ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा छ । यो बन्जी सञ्चालनमा प्रभु बैङ्कको लगानी रहेको सञ्चालकले जानकारी दिएका छन् ।  गत २०७३ सालबाट सो क्षेत्रमा बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो । अहिले पुलको काम लगभग अन्तिम चरणमा रहेको सञ्चालक नेत्र पराजुलीले बताए । उनका अनुसार बन्जीको सबै काम दुई महिनाभित्र सक्ने योजना छ ।

पर्यटक नगरी पोखरानजिकै तथा लोकमार्गबाट पनि नजिकै पर्ने भएकाले कुश्मामा निर्माणाधीन बन्जीले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीको भनाइ छ । पोखराको लेकसाइडमा कार्यालय सञ्चालनमा ल्याएको द क्लिफले ‘लभ कुश्मा’ रिसोर्ट नामबाट यो गन्तव्यको ब्रान्डिङ गरिरहेको छ । कुश्मा र बलेबा जोड्ने लामो झोलुङ्गे पुलमा बन्जी जम्प, स्काई साइक्लिङ एवम् स्विङसमेत सञ्चालनमा ल्याइने सञ्चालक पराजुलीले जानकारी दिए ।

कुश्मा रिसोर्टमा करिब १ सयभन्दा बढीलाई सेवा दिने गरी रिसोर्ट निर्माण हुँदै छ । बन्जीका लागि चाहिने सबै सामान तथा प्राविधिक सामान सबै विदेशबाट मगाइएको छ । रिसोर्ट खासगरी टेन्ट सिस्टमको व्यवस्थामा आधारित हुने बताइएको छ । द क्लिफ प्रालिमा अहिले राजु कार्कीसहित ११ जनाको लगानी छ ।

विश्वकै सबैभन्दा ऊचाइमा अवस्थित स्काई साइक्लिङ र स्विङसँगै विश्वकै दोस्रो अग्लो बन्जी (७ सय ३५ फुट) भएकाले यो एसियाकै उत्कृष्ट गन्तव्य बन्ने अध्यक्ष कार्कीको विश्वास छ । पोखरादेखि मुस्ताङसम्म जाने पर्यटकले एक पटक बन्जी नगरी नजाने उनको दाबी छ । यहाँ स्विङ, बन्जी, रेस्टुरेन्ट, रिसोर्ट, स्पा (मसाज), साउना बाथ (तातोमा पसिना निकाल्ने) र स्विमिङ पुलको सुविधा रहने उनले जानकारी दिए ।

कुश्मा बजारको व्यापार व्यवसाय खस्किँदै गएका बेला युवा उद्यमी कार्कीले, फ्लोरेन्स कार्की, स्थानीय युवा व्यवसायी युवराज जोशी र नेत्र पराजुलीलगायतको सहयोग लिएर पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका हुन् । यसले कुश्माको मात्र नभई नेपालकै पर्यटनलाई माथि उकास्ने उनको भनाइ छ । यसमा विश्वको नै ध्यान जान सक्ने उनले बताए ।
अहिले चाइनाको मकाउ टावरमा दुई सय ३३ मिटरमा पहिलो, स्विट्जरल्यान्डको टिसिनो भिर्जस्का ड्याममा दुई सय २० मिटरको दोस्रो र साउथ अफ्रिकामा तेस्रो अग्ला बन्जी सञ्चालनमा छन् ।