बीस प्रतिशत ज्याला बृद्धि गर्ने सहमति पछि टानको ताला खुल्यो

लामो समय देखी आफुहरुको ज्याला बृद्धि नभएको भन्दै मजदुरहरुले बिगत तिन दिन देखी कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए ।

बीस प्रतिशत ज्याला बृद्धि गर्ने सहमति पछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा लागेको ताला बिहिबार खुलेको छ । लामो समय देखी आफुहरुको ज्याला बृद्धि नभएको भन्दै मजदुरहरुले बिगत तिन दिन देखी कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनरत मजदुरहरु र टानका प्रतिनिधिहरुबीच भएको वार्तापछि आगामी जनवरी १ बाट २० प्रतिशत ज्याला बृद्धि गर्ने सहमति ताला खुलेको टानका महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए ।
यस्तै विमाको विषयमा पुर्व कार्यसमितिका निर्णयलाई पुर्ण रुपले लागु गर्ने, टिम्सबाट मजदुर कल्याणकारी कोषबाट आउने १० प्रतिशत रकम पुर्ण रुपमा मजदुरकै लागी प्रयोग गर्न पहल गर्ने र सोको लागी टानले मजदुरहरु रहने गरि कार्यदल बनाउने, मजदुरहरु मरेमा काजक्रिया वापत १ लाख मृतकको परिवारलाई दिनु पर्ने, मजदुरहरुको लागी टिम्सको रकमबाट तालिमहरु दिइनु पर्ने, मजदुरहरुको सामाजिक शुरक्षा र कम्पनीका कार्यरत मजदुरलाई बर्षको एकपटक चाडवाड खर्चा नेपाल सरकारको नियम अनुसार दिनुपर्ने, आफुखुशी पदयात्रामा जाने पर्यटकहरुलाई रोक्न टिम्स र अन्य पर्मिटहरु बन्द गराउन टान र मजदुर संगठनहरु मिलेर तत्काल अन्दोलन गर्ने, कुनै पनि एजेन्सीको ग्रुप भांडने र राम्रो काम नगर्ने मजदुरहरुलाई कुनै पनि एजेन्सीमा काम नपाउने व्यवस्था गर्ने, प्रत्येक ६÷६ महिनामा टानले मजदुरहरुसंग बसि सम्झौता कार्यन्वयन भयो कि भएन भनेर बैठक राख्ने आदि निर्णयहरु भएको महासचिव शेर्पाको भनाइ छ ।

वार्तामा टानका अध्यक्ष नवराज दाहाल,प्रथम उपाध्यक्ष जीवन थापामगर,महाचिब आङ पेम्बा शेर्पा,टानका मजदुर विभागका संयोजक जंगबहदुर लामा र युनिट्रभका अध्यक्ष सुमन पराजुली, अखिल नेपाल पर्यटन जदुर संघका अध्यक्ष रामचन्द्र ढुंगाना, नेपाल पर्यटन श्रामिक संघका अध्यक्ष दिपेन्द्र पाण्डे लगाएतको सहभागिता रहेको थियो ।