सरकारी आदेशविरुद्ध होटल सङ्घ, अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ

समाजमा पछिल्लो समय धेरै विकृति बढेको भन्दै सरकारले आदेश तथा नीति जारी गरी मदिरा बिक्रीमा सीमा तोक्न लागेपछि शुक्रबार आकस्मिक बैठक बसी होटल सङ्घले सरकारको ध्यानाकर्षण गराएको हो ।

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा (बादल)ले मदिराजन्य वस्तु बिक्री वितरणमा कडाइ गर्ने आदेश ल्याउन लागिरहेका बेला होटल सङ्घ नेपालले आपत्ति जनाएको छ । समाजमा पछिल्लो समय धेरै विकृति बढेको भन्दै सरकारले आदेश तथा नीति जारी गरी मदिरा बिक्रीमा सीमा तोक्न लागेपछि शुक्रबार आकस्मिक बैठक बसी होटल सङ्घले सरकारको ध्यानाकर्षण गराएको हो ।

सङ्घका अध्यक्ष अमरमान शाक्यले सरकारले मदिरा बेचबिखनसम्बन्धी मस्यौदामा भएबमोजिमका निर्णय लागू गरिने हो भने मर्यादित व्यापार व्यवसाय सञ्चालन गरिरहेका होटललगायत आतिथ्यता उद्योगका सम्पूर्ण संयन्त्रहरु नै प्रत्यक्ष मारमा पर्न जाने बताएका छन् । उनले शान्ति, सुरक्षा र अमनचैन कायम राख्न लागेको कार्यलाई सङ्घका तर्फबाट सकारात्मक रुपमा लिने र सधैं सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरेका छन् । सङ्घका महासचिव विनायक शाहले विकृति नियन्त्रणका नाममा मदिराजन्य पदार्थको बिक्रीमा कडाइ गर्नु सिङ्गो होटल क्षेत्रको व्यवसाय मर्कामा पार्ने काम गरेको भन्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाउन लागिएको बताए ।

सङ्घका कार्यसमिति सदस्यसहित तारे होटल सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको आकस्मिक बैठकले सम्पूर्ण सरोकारवालाहरुसँग गहन छलफल तथा बृहत् परामर्श नगरी तर्जुमा गरिने यस प्रकारका नीति व्यवसायमैत्री नहुने र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पु¥याई औद्योगिक तथा व्यावसायिक अभिवृद्धिमा समेत नकारात्मक सन्देश प्रवाह पर्ने निर्णय गरेको छ ।

आतिथ्यता उद्योग नै नेपालको प्रमुख पहिचान तथा पर्यटकीय स्रोत भएको तथ्य नै प्रत्युत्पादक हुन सक्ने भएकाले नेपाल भ्रमण वर्ष २०२० समेतलाई मध्यनजर राखी सर्वपक्षीय सरोकार भएको यस प्रकारका निर्णय कार्यान्वयनमा जानुपूर्व छलफल गरी कार्यसम्पादन गर्न सरकारसँग माग गरेका छन् ।