चालू आर्थिक वर्षको मङ्सिर १७ गतेसम्म नेप्सेमा सूचीकृत भएका २२ कम्पनीले गत र अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन् ।
काठमाडौं । चालू आर्थिक सुरु भएयता २२ कम्पनीको ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएका छन् ।
चालू आर्थिक वर्षको मङ्सिर १७ गतेसम्म नेप्सेमा सूचीकृत भएका २२ कम्पनीले गत र अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन् ।
सो अवधिमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैङ्क छ । बैङ्कले सेयरधनीलाई २५ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर कारोबारका लागि सूचीकृत भएका छन् । यसैगरी सबैभन्दा कम बोनस सेयर सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले दिएको छ । सूर्योदयका ७५ लाख रुपैयाँका बोनस सेयर सूचीकृत भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
एनएमबी बैङ्कको १ अर्ब १४ करोड रुपैयाँ बराबरका १ करोड १४ लाख कित्ता, मेगा बैङ्कको ९९ करोड ६६ लाख रुपैयाँ बराबरका ९९ लाख ६६ हजार कित्ता, सिद्धार्थ बैङ्कको ९५ करोड ५६ लाख रुपैयाँ बराबरका ९५ लाख ५६ हजार कित्ता, बैङ्क अफ काठमाण्डूको ८२ करोड ७५ लाख रुपैयाँ बराबरका ८२ लाख ७५ लाख कित्ता र सेन्चुरी कमर्सियल बैङ्कको ३८ करोड ३९ लाख रुपैयाँ बराबरका ३८ लाख ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको २१.२१ प्रतिशत, गण्डकी विकास बैङ्कको १९.३१, युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन् । समिट लघुवित्त वित्तीय संस्थाको १७.३४, कामना सेवा विकास बैङ्कको १७.१०, एनएमबी बैङ्कको १५ तथा ओरियन्टल होटलको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन् ।
यस्तै बोर्डमा नेपाल कम्युनिटी विकास बैङ्क, मञ्जुश्री फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, देव विकास बैङ्क, सूर्य लाइफ इन्स्योरेन्स र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको पनि बोनस सेयर सूचीकृत भएका छन् ।
एसियन लाइफको ४ प्रतिशत, कामना सेवाको साढे ५ प्रतिशत तथा मञ्जुश्री फाइनान्सको ५.७१ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन् ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्