ओसाकामा वाइडबडी सञ्चालनका लागि जापानी टोली काठमाडौंमा

न्यारोबडीमार्फत् उडान भर्दै आएको जापानमा केही समय अघिदेखि उडान रोकिएको थियो । जापानी टोलीले युरोपिएन युनिएन (ईयू)ले नेपाललाई कालोसूचीमा राखेपछि आफै निरीक्षणका लागि त्यहाँका विमानस्थलका प्रतिनिधिहरु नेपाल आएका हुन् ।

काठमाडौं : नेपाल एयरलाइन्सले आउँदो माघभित्र जापानको ओसाका सहरमा वाइडबडी जहाज उडाउने तयारी गरिरहेका बेला आवश्यक छलफलको लागि जापानी अधिकारी काठमाडौं आइपुगेका छन् । न्यारोबडीमार्फत् उडान भर्दै आएको जापानमा केही समय अघिदेखि उडान रोकिएको थियो । जापानी टोलीले युरोपिएन युनिएन (ईयू)ले नेपाललाई कालोसूचीमा राखेपछि आफै निरीक्षणका लागि त्यहाँका विमानस्थलका प्रतिनिधिहरु नेपाल आएका हुन् ।

ओसाका विमानस्थलका एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउले सहितको टोलीले सोमबार नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष मदन खरेलसँग दुई पक्षीय छलफल गरेका छन् । छलफलका क्रममा निकट भविष्यमै जहाज सञ्चालनका लागि पूरा गर्नुपर्ने प्रक्रिया र जापानको तर्फबाट हुने सहयोगका विषयमा छलफल भएको एनएसीका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

जापानी टोलीले उडान पुनः सञ्चालन गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने बताउनुका साथै हानेदापछि ओसाका आकर्षक र महत्त्वपूर्ण विमानस्थल रहेकाले निगमको उडान उपलब्धिमूलक हुने बताए । केही महिनाअघि एनएसीले खरिद गरेका दुई ओटा वाइडबडी जहाजले लामो गन्तव्यमा उडान नभरेको आरोप खेपिरहेका बेला जापान र चीनमा उडान भर्न लागेको हो ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यस्थलको रुपमा जापान विकास हुँदै गएको छ । नेपाली विद्यार्थीलाई लक्ष्य गरी जहाज सञ्चालनमा आएसँगै भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने अपेक्षा पर्यटन व्यववसायीहरुले लिएका छन् । ईयूले नेपाललाई कालो सूचीमा राखे पनि उडान भइरहेका मुलुकमा भने केही फरक नपर्ने भएकाले वाइडबडीले जापान उडानका लागि प्रक्रिया अगाडि बढाएको हो ।