महाप्रबन्धक कंसाकार भन्छन् : ‘हाईफाई एक्स एक डलरकै कम्पनी हो, उद्देश्य वाइड बडी किन्ने’

एनएसीले केही समयअघि ल्याएको दुई ओटा वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा विवाद भइरहेका बेला महाप्रबन्धक कंसाकारले एक डलर पुँजी भएको हाईफाई कम्पनीबाटै जहाज खरिद गरेको स्वीकार गरेका हुन् ।

नेपाल वायुसेवा निगम (एनएसी)का महाप्रबन्धक सुगतरत्न कंसाकारले हाईफाई एक्स नामक कम्पनी एक डलरकै भएको स्वीकार गरेका छन् । एनएसीले केही समयअघि ल्याएको दुई ओटा वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा विवाद भइरहेका बेला महाप्रबन्धक कंसाकारले एक डलर पुँजी भएको हाईफाई कम्पनीबाटै जहाज खरिद गरेको स्वीकार गरेका हुन् ।

हाईफाईले दुई ओटा जहाज बिक्रीका लागि मात्र कम्पनी खडा गरेको थियो । विषेशगरी यस्ता कम्पनी आयरल्यान्डमा दर्ता हुने गरेको महाप्रबन्धक कंसाकारको भनाइ छ । ती मुलुकमा ठूला ठूला उपकरणहरु बिक्रीका लागि यस्ता धेरै कम्पनी खुल्ने गरेका छन् । त्यस्ता कम्पनीलाई कहीं स्पेसल प्रपोज कम्पनी (एसपीसी) भनिन्छ भने कतै स्पेशल प्रपोज भेइकल (एसपीभी) भनिन्छ ।

महाप्रबन्धक कंसाकारले नेपालमा जलविद्युत् कम्पनीहरुले यस्ता कम्पनीहरुबाट सामान खरिद गर्ने गरेका छन् । तर त्यहाँ कसैलाई चासो नहुने भएका कारण विवादमा धेरै नआउने गरेको बताउँदै एनएसीमा भने धेरै हल्ला भएको बताए ।

उनले जहाज बिक्री गरेपछि त्यस्ता कम्पनीहरु प्रायः बन्द हुने गरेको बताए । हाईफाईबाट जहाज बिक्री भएपछि त्यसको स्वामित्व स्वतः नेपाल एयरलाइन्समा आएको जानकारी दिए । हवाई कम्पनीहरुमा जुन कम्पनीले निर्माण गरेको त्यही कम्पनीको जिम्मेवारी हुने भएकाले मर्मत सम्भार र ग्यारेन्टी एयरबससँगै रहेको उनको तर्क छ । हाल एयरबसका एक जना प्रतिनिधि नेपालमै बसेका छन् ।

जहाज खरिदमा घोटाला भएको आशङ्कामा हाल संसदका दुई ओटा समितिले छानबिन गरिरहेका छन् । संसदको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उपसमिति नै बनाएर छानबिन प्रक्रिया अगाडि बढाएको छ । यसैबीच पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा घोटाला भएको पाइएमा कडा कारबाही गर्ने बताएका छन् । संसदको छानबिन समितिको प्रतिवेदनका आधारमा एक्सनमा जाने मन्त्री अधिकारीको तयारी छ ।