माग भन्दा बढी आवेदन परेकाले बुधबारसम्म मात्र आवेदन लिने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिट लिमिटेडले जनाएको छ ।
काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार) सम्म मात्र निष्कासन हुने भएको छ । कम्पनीले गत आईतबार १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको हो ।
माग भन्दा बढी आवेदन परेकाले बुधबारसम्म मात्र आवेदन लिने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिट लिमिटेडले जनाएको छ । निष्कासन मध्ये ५० हजार ७४१ कित्ता सेयर संस्थाका कर्मचारी, ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोष र बाँकी १५ लाख ५५ हजार २३३ कित्ता आईपीओ सर्वसाधारणलाई खुला गरिएको हो । न्युनतम ५० देखि ८ लाख कित्तासम्म दरखास्त दिन पाउने सिद्धार्थले जनाएको छ ।
इक्रा नेपाल लिमिटडले आईपीओ ग्रेड ५ दिएको छ । यो धेरै कम ग्रेड हो । आउदो ३ वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ पुग्ने अनुमान छ । चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ हुने छ । ३ वर्षमा कम्पनीको नेटवर्थ बढेर ११० रुपैयाँ ९५ पैसा पुग्ने सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनी चालु आर्थिक वर्षसम्म नोक्सानमा हुने र आगामी वर्षदेखि नाफामा जाने देखिएको छ । आगामी वर्ष १ करोड ८२ लाख र अर्को वर्ष बढेर ४ करोड ६ लाख रुपैयाँ पुग्ने छ । आयोजना बनाउन बैंकबाट लिएको ऋण तिर्ने अवधि ११ वर्ष रहेको छ । लगानीकर्ताले ११ वर्षपछि मात्र राम्रो लाभांश पाउने छन् । आयोजना बनाउन प्रति मेगावाट १८ करोड ४५ लाख रुपैयाँ खर्च भएको कम्पनीले जानकारी दिएको छ । आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ छ ।