मध्यभोटेकोसी जलविद्युतको दोस्रो आईपीओ आज बुधबारदेखि, २७ करोडको निष्कासन

आउँदो ३ वर्ष अर्थात् आर्थिक वर्ष ०७८/७९ मा प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । चालू आर्थिक वर्षसम्म नोक्सानमा जाने कम्पनीले ३ वर्षमा नाफा २७ लाख ७४ हजार रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले पनि आज बुधबारदेखि दोस्रो साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । दोस्रो आईपीओमा २७ करोड रुपैयाँ बराबरका २७ लाख कित्ता विक्री हुनेछन् ।

कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओमध्ये कम्पनीले संस्थापक सङ्गठित संस्थाका कर्मचारीलाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता र ऋणदाता कर्मचारी सञ्चय कोषका कर्मचारीलाई ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओ मङ्सिर २२ गतेसम्म बहाल रहेका कर्मचारीले भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म भर्न पाइने ग्लोबल आईएमइले जानकारी दिएको छ ।

३ बर्षसम्म बिक्री गर्न नपाइने (लकअप पिरियड) छ । सेयर चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, नेपाल अरनिको हाइड्रो कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोवावर लिमिटेडका सेयरधनीहरुले भर्न पाउनेछन् ।

कम्पनीले हाल सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । आउँदो सन् २०१९ मा आयोजन सम्पन्न गर्ने लक्ष्य छ । आउँदो ३ वर्ष अर्थात् आर्थिक वर्ष ०७८/७९ मा प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । चालू आर्थिक वर्षसम्म नोक्सानमा जाने कम्पनीले ३ वर्षमा नाफा २७ लाख ७४ हजार रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।

चालू आर्थिक वर्षमा प्रतिसेयर ०.१७ पैसा आगामी वर्ष १४ र ०७७/०७८ मा १७ रुपैयाँ ५७ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ । साढे ७ वर्षमा कम्पनीले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने जानकारी दिएको छ । त्यसपछि लगानीकर्ताले राम्रो लाभांश पाउने छन् ।

केयर नेपाल लिमिटेडले केयर एनपी आईपीओ ग्रेड ४ दिएको छ ।