दोर्दीखोला जलविद्युत् र विजयादीप ल्याबोरेटरिजले आईपीओ निष्कासन गर्ने

दोर्दीखोला जलविद्युत् सीईडीबी हाइड्रो फन्ड लिमिटेडअन्तर्गतको सहायक कम्पनी हो । यसअन्र्तगत राधी विद्युत् कम्पनी लिमिटेडले ४ मेगावाटको राधी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

काठमाडौं : निजी क्षेत्रका दुई ओटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र विजयादीप ल्याबोरेटरिज लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

दोर्दीखोला जलविद्युत् र विजयादीप औषधि उद्योग हो । आईपीओ निष्कासन गर्न दोर्दीखोलाले मङ्सिर २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा रहेको कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए ।

साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासको काम अघि बढ्ने भण्डारीले जानकारी दिए । सभाबाट पारित भएपछि सेयर सङ्ख्या निश्चित हुने उनको भनाइ छ । कम्पनीले लमजुङमा १२ मेगावाटको दोर्दीखोला १ आयोजना निर्माण गरिरहेको छ । आयोजना आउँदो १ वर्षमा सम्पन्न हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ ।

दोर्दीखोला जलविद्युत् सीईडीबी हाइड्रो फन्ड लिमिटेडअन्तर्गतको सहायक कम्पनी हो । यसअन्र्तगत राधी विद्युत् कम्पनी लिमिटेडले ४ मेगावाटको राधी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । रुकुमगाड जलविद्युत् कम्पनी लिमिटेडले ५ मेगावाटको रुकुमगाड आयोजना र युनिभर्सल पावर कम्पनी लिमिटेडले १२ मेगावाटको खारेखोला आयोजना निर्माण गरिरहेको छ ।

यसैगरी विजयादीपले पनि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत गर्ने भएको छ । आउँदो पुस २२ गते २०औं वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने कम्पनीले जानकारी दिएको छ । नेप्सेमा सूचीकृत हुन कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।