छ महिनाभित्र एनएसीको साझेदारी फिक्स हुन्छ, पर्यटनमन्त्री अधिकारी

लामो समयदेखि आर्थिक सङ्कटमा पर्दै आएको एनएसीलाई कम्पनी मोडलमा लैजाने र साझेदारी भित्र्याउने तयारी गरिएको हो । पहिलेदेखि नै एनएसीमा साझेदारी भित्र्याउने हल्ला चलिरहेका बेला पर्यटनमन्त्री अधिकारीले तीव्र रुपमा तयारी गरिएको बताएका छन् ।

काठमाडौं : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अबको छ महिनाभित्र नेपाल वायुसेवा निगम (एनएसी)को साझेदारी फिक्स भइसक्ने बताएका छन् । नेपाल एयरलाइन्सलाई विश्वमा प्रतिस्पर्धी बनाउन स्ट्राटेजी साझेदारी भित्र्याउन लागिएको पर्यटनमन्त्री अधिकारीको भनाइ छ ।

लामो समयदेखि आर्थिक सङ्कटमा पर्दै आएको एनएसीलाई कम्पनी मोडलमा लैजाने र साझेदारी भित्र्याउने तयारी गरिएको हो । पहिलेदेखि नै एनएसीमा साझेदारी भित्र्याउने हल्ला चलिरहेका बेला पर्यटनमन्त्री अधिकारीले तीव्र रुपमा तयारी गरिएको बताएका छन् । साझेदारीको लागि हाल एनएसीको सम्पत्ति विवरण तयार पारिरहेको मन्त्री अधिकारीले जानकारी दिए ।

यता एनएसीले भने पुँजि वृद्धि गर्न भन्दै सरकारसँग २० अर्ब रुपैयाँ माग गरिरहेको छ । केही साताअघि श्वेतपत्र जारी गर्दै रकम नदिए एनएसी आर्थिक सङ्कटमा पर्ने बताउँदै आएको छ । गत साउनमा २ ओटा वाइडबडी भित्र्याएको एनएसीले बिजनेसप्लानअनुसार उडान भर्न नसक्दा थप आर्थिक भार पर्दै गएको छ ।

यसैबीच एनएसीसँग साझेदारी बन्न इथियोपियन एयरलाइन्स इच्छुक देखिएको छ । केही समयअघि पर्यटनमन्त्री अधिकारी र इथियोपियाका राजदूत असफा डिगमो केमबीच भएको भेटवार्तामा निगमको रणनीतिक गठबन्धन गर्न तयार रहेको बताएका थिए ।

एनएसीलाई विश्वबजारमा प्रतिस्पर्धा गराउनका लागि इथियोपियन एयरलाइन्स तयार रहेको राजदूत केमले मन्त्री अधिकारीसमक्ष जानकारी गराएको मन्त्रालय स्रोतको भनाइ छ । हाल इथियोपिया एयरलाइन्ससँग १०८ एयरक्राफ्ट छन् भने १२५ ओटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।