बैङ्कहरुबीच भद्र सहमति तोडिँदै ब्याजदर १२.५ प्रतिशतसम्म पुगेपछि बजार एक्कासि २२ अङ्क घटेको हो ।
बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिएपछि लगानीकर्ता निराश भएका छन् । जसको परिणामस्वरुप बुधबार बजार २२ अङ्कले घट्दै ११०० सयनजिक आएको छ । बैङ्कहरुबीच भद्र सहमति तोडिँदै ब्याजदर १२.५ प्रतिशतसम्म पुगेपछि बजार एक्कासि २२ अङ्क घटेको हो ।
यसअघि साताको दुई दिन सुधार आएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तेस्रो दिन आज २२.८० अङ्क झरेको हो । आइतबार घटेको नेप्से सोमबार र मङ्गलबार बढेपछि बुधबार २२.८० अङ्कले घट्दै १११८ अङ्क कायम भएको छ । आइतबार ११३० अङ्क कायम भएको नेप्से मङ्गलबार १० अङ्क सुधार हुँदै ११४० अङ्क कायम भएको थियो । तर, पछिल्लो समय लगानीकर्ताले विश्वास गुमाउँदा बजार निरन्तर ओरालो लागेको हो ।
तर, आज बुधबार कारोबार सुरु भएदेखि तीव्ररुपमा घट्न सुरु गरेको परिसूचक ११०० अङ्कको नजिक आएको छ । ११४०.९५ अङ्कबाट सुरु भएको नेप्से दिनभरि ओरालो लाग्दै १११८.१९ अङ्क कायम भएको हो । कारोबार सुरु भएको साढे २ घन्टाको अवधिमा १५ अङ्क घटिसकेको थियो । त्यसपछिको अवधिमा ७ अङ्क घट्दै १८ अङ्कले घटेको हो ।
आज नेप्सेमा १५६ कम्पनीका ४ हजार ३ सय ६८ कारोबारबाट ११ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भई ३७ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा १ करोड रुपैयाँ कम हो ।
सोमबार ६० करोड रुपैयाँको कारोबार भएको नेप्सेमा मङ्गलबार १ सय ६१ कम्पनीको ४ हजार ९१ कारोबारबाट १२ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भई ३८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेपाल बैङ्कको सबैभन्दा बढी ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको दिन सबै १० समूहको सूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा १८५.२६, जीवन बिमा ९६.०१, बैङ्किङ १५.२२, विकास बैङ्क ३३.८८, अन्य २८.०८, लघुवित्त ३०.४१ तथा जलविद्युत् २१.२४ अङ्कले ओरालो लागेका छन् ।
आज समग्र बजार घटेको दिन नेप्सेमा हाथवे फाइनान्स कम्पनीको सेयर मूल्य ५.७७ प्रतिशत बढेको छ भने राधी विद्युत् कम्पनीको ६.८९ पतिशतले मूल्य घटेको छ ।