लेखा समितिलाई पर्यटनमन्त्रीको जवाफ : वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्सकै

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वाइडबडीको लालपुर्जा नेपाल एयरलाइन्ससँगै रहेकाले ढुक्क हुन आग्रह गरेका हुन् ।

काठमाडौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दुई ओटा वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्ससँगै रहेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वाइडबडीको लालपुर्जा नेपाल एयरलाइन्ससँगै रहेकाले ढुक्क हुन आग्रह गरेका हुन् ।

गत साउनमा काठमाडौं ल्याइएका ती वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्ससँग नरहेको भन्दै समितिका सदस्यहरुले पटक पटक सम्बन्धित निकायहरुलाई जवाफ दिन माग गरेका थिए । ‘नेपाल एयरलाइन्सको स्वामित्व नभएको भए युरोपबाट नेपाल आउनै दिँदैन्,’ मन्त्री अधिकारीले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत उडान अनुमति दिन नमिल्ने विषयमा कन्फ््युज हुन आवश्यक छैन ।’

वाइडबडी खरिदमा घोटाला भएको आशङ्कामा पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सलाई छानबिनका लागि निर्देशन दिएको बताउँदै उनीहरुको प्रतिवेदनमाथि अध्ययन भइरहेको बताए । मन्त्रालयले पनि आन्तरिक रुपमा छानबिन गरिरहेकाले आवश्यक परे छुट्टै समिति बनाएर अघि बढ्ने मन्त्री अधिकारीको भनाइ छ ।

समितिका सदस्य डा मिनेन्द्र रिजालले मन्त्री अधिकारीले दिएको जवाफ चित्त बुझ्दो नभएको बताएका छन् । उनले एनएसीले गरेको काममा मन्त्री अधिकारी नै सन्तुष्ट छन् वा छैनन् भन्ने विषयमा प्रष्ट हुन आवश्यक रहेको बताए । ‘अब नागरिक लगानी कोष र सञ्चय कोषले कसरी पैसा दिए,’ समितिका सदस्य रिजालले भने, ‘उनीहरुले पनि जवाफ दिनुपर्छ ।’ यस्तै लेखराज भट्टले एनएसी नै विवादमा रहेका बेला पर्यटन मन्त्रालयले छानबिनको जिम्मेवारी दिनु गलत भएको बताए ।

यसैबीच समितिले पर्यटन मन्त्रालयलाई लिखित जवाफ पठाउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहले बैठकमा दिएको जवाफका आधारमा समितिले मन्त्रालयलाई लिखित जवाफ दिन निर्देशन दिएको हो ।

यस्तै समितिले पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई पठाउन लिखित प्रश्नहरु तयार पारेको छ । प्रश्नहरुको विषयमा समितिका सदस्यहरुबीच छलफल भएपछि मन्त्रालय र एनएसीलाई जवाफका लागि पठाइने सभापति शाहले जानकारी दिए ।