पुस मसान्तमा रहने सेयर मूल्यका कारण मार्जिन कलमा चाप पर्ने भएकाले पनि लगानीकर्ता कुनै न कुनै रुपमा कम्पनीहरुको सेयर भाऊ उचाल्ने प्रवृत्तिमा देखिन्छन् ।
धितोपत्र कारोबार परिसूचक आज (सोमबार) दोहोरो अङ्कले बढेको छ । निकै उतारचढावका बीच अन्तिम समयमा आएर नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ अङ्क (०.८४ प्रतिशत)ले बढेर १४४३.८० अङ्कमा पुगेको छ । कारोबार सुरु भएलगत्तै (११ः५४ मा) नेप्से परिसूचकमा १६.८६ अङ्कले बढ्दै १४४८.६६ अङ्कमा पुगेपनि कारोबारको मध्य समयमा घटेर ४.६७ अङ्कको वृद्धिमा खुम्चिएको थियो । त्यसपछि फेरि बढ्न थालेको नेप्से १४४३.८१ अङ्कमा पुगेपनि पुनः घट्ेको थियो । अन्तिम समयमा मात्र १२ अङ्क पुग्नेगरी नेप्से बढेको हो ।
खासगरी चालू आर्थिक वर्ष ६ महिनाको अन्तिम साता भएकाले पनि नेप्से बलजफ्ती बढाउने प्रयास भएको नेप्सेको रेखाचित्रले प्रस्ट देखाउँछ । पुस मसान्तमा रहने सेयर मूल्यका कारण मार्जिन कलमा चाप पर्ने भएकाले पनि लगानीकर्ता कुनै न कुनै रुपमा कम्पनीहरुको सेयर भाऊ उचाल्ने प्रवृत्तिमा देखिन्छन् । सेयर मूल्य तल झरेर कारोबार भए पुस मसान्तमा मार्जिन कल आउने भयले लगानीकर्ता आत्तिएका छन् । मुलुकको राजनीतिक तथा आर्थिक परिस्थिति शान्तजस्तै रहेकाले सेयर बजार पनि शान्तजस्तै देखिन्छ । समग्रमा नेप्सेमा देखिने १०÷१२ अङ्कसम्मको वृद्धि वा गिरावटलाई सामान्य रुपमा नै लिने गरिन्छ । आईतबार पनि ७.९७ अङ्कको वृद्धि देखिएको थियो ।
अर्धवार्षिक अवधि भएकाले कर तिर्ने दबाब रहन्छ भने कम्पनीहरुलाई पनि आफ्नो वित्तीय विवरण चुस्तदुरुस्त देखाउनुपर्ने वाध्यता रहन्छ । कम्पनीहरुको अर्धवार्षिक अवधिको वासलातले आगामी वर्षको कम्पनीको लाभांशमा कस्तो प्रभाव पर्छ भन्ने आँकलन पनि गर्न सकिन्छ । विगतमा पनि पुस अन्तिम सातामा बजार बढ्ने गरेको पाइन्छ । त्यसैले पुसमा सेयर कारोबार हुने बाँकी तीन दिन (मङ्गलबार, बुधबार र आईतबार) नै बजार कुनै न कुनै रुपमा बढ्ने सम्भावना देखिन्छ । बिहीबार सरकारले पृथ्वी जयन्तीका लागि यसअघि नै सार्वजनिक विदा घोषणा गरेको छ ।
नेप्सेमा सूचीकृत १० उपसूचकमध्ये होटल सूचक १७.३७ अङ्कले घटेको छ भने अन्य सबै उपसूचक बढ्दा नेप्से बढ्न मद्दत गरेको छ । आज पनि सबैभन्दा बढी बिमा सूचकमा १२२.१६ अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्सेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ । जसका कारण आज नेप्सेमा नेपाल लाईफको ८ करोड २६ लाख १७ हजार ७ सय ४६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिजो पनि सबैभन्दा बढी नेपाल लाईफको ५ करोड २७ लाख ६४ हजार ४ सय ५ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज ४ हजार ४ सय ५४ कारोबारबाट ८ लाख ५५ हजार १ सय ३९ कित्ता सेयर खरिद विक्री भई ४६ करोड ४६ लाख ३९ हजार ८ सय २० रुपैंयाँ बराबरको सेयर कारोबार भएको हो । आजको कारोबार हिजोको भन्दा धेरै हो । हिजो आईतबार ३ हजार ९ सय ८५ कारोबारबाट ७ लाख ५१ हजार ३९ कित्ता सेयर किनबेच भई ३६ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।