एयर एसिया मलेसियाले बक्यौता रकम पठायो

एयर एसिया एक्स मलेसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई तिर्नुपर्ने बक्यौता रकम पठाउन सुरु गरेको छ ।

एयर एसियाले आइतबार र सोमबार गरेर विमानस्थल कार्यालयलाई ३ करोड ५० लाख रकम पठाएको हो । एयर एसिया मलेसियाले यात्रु सेवा शुल्क वापत बक्यौता रकम बुझाउन समय लगाएपछि विमानस्थल कार्यालयले एयर एसिया मलेसियाकै कार्यालयलाई पत्र पठाएको थियो ।

कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एयर एसियाले बक्यौता रकम तिर्न सुरु गरेको बताए । ‘एयरलाइन्सले आइतबार र सोमबार गरेर ३ करोड ५० लाख दाखिला गरिसकेको छ, अरु रकम तिर्नका लागि इमेलमार्फत केहि समय माग गरेको छ,’ उनले भने । हाम्रो उद्देश्य भनेको एयरलाइन्स बन्द गराउनुभन्दा पनि बक्यौता रकम उठाउनु हो, त्यसैले किस्ताबन्दीमा भएपनि रकम उठाउन लागिपरेको उनले बताए ।

पुस २४ गते सबै एयरलाइन्स कम्पनीहरुलाई बक्यौता रकम भुक्तान गर्न कार्यालयले पत्राचार गरेको थियो । समयसीमाभित्र आन्तरिक दुई एयरलाइन्स सिम्रिक र सौर्यले रकम नबुझाएको विमानस्थल उडान सञ्चालन विभागका निर्देशक सुधीर चौधरीले जानकारी दिए ।