स्मार्टलाइसेन्स छाप्न यातायात व्यवस्था विभागको असहयोगः मालिका इन्कर्पोरेटका प्रबन्धनिर्देशक सुरेन्द्र ढकालसँगको अन्तर्वार्ता

लाइसेन्स छाप्न हामीले अहिले २० ओटा प्रिन्टर प्रयोगमा ल्याएका छौं । २० ओटा मेसिन चलाउन अपरेटर र प्राविधिक पनि खटाइएको छ । यातायात विभागबाट हामीलाई जति डाटा आउनुपर्ने हो त्यो नआएका कारणले यस्तो समस्या देखिएको हो । यसै कारण ढिलाइ भएको छ ।

सरकारले मालिका इन्कर्पोरेटलाई स्मार्ट लाइसेन्स छाप्न जिम्मा दियो । यातायात व्यवस्था विभागले डेढ महिनाअघि ६ लाख स्मार्ट लाइसेन्स छाप्ने घोषणा समेत गर्यो । सफ्टवेयर तथा डाटा इररलगायत प्राविधिक समस्याले स्मार्ट लाइसेन्स छपाइ ढिलो भइरहेको जनाएको छ । विभाग र मालिकाबीच आरोपप्रत्यारोप सुरु भएसँगै स्मार्ट लाइसेन्स छाप्ने काम अन्योल जस्तै भएको छ । अहिले लाखौं सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा बसिरहेका छन् ।

विभाग र मालिकाबीच समन्वयको कमी देखिन्छ । स्मार्ट लाइसेन्स कम्पनीको वास्तविकता र कम्पनीको भूमिका लगायतका विषयमा मालिकाका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालसँग क्यापिटल नेपालका लागि युवराज बस्नेतले गरेको कुराकानी ।

स्मार्ट लाइसेन्स छाप्ने काममा किन ढिलाइ भइरहेको छ ? कम्पनीकै लापरवाहीले यस्तो हुन गएको हो ?
हाम्रो कम्पनीको लापरवाहीले लाइसेन्स छाप्ने काममा ढिलाइ भएको हैन । यसलाई कम्पनीको लापरवाही भन्न मिल्दैन । सरकारले लाइसेन्स छाप्ने जिम्मा हामीलाई दिएको हो । यसको मतलब यो हैन कि सरकार अगतिलो छ । लापरवाही भन्ने बित्तिकै नकारात्मक सन्देस जान्छ । यसो भनिरहँदा हामीले नै लाइसेन्स छाप्न नसकेको असक्षम भइएको जस्तो देखिन्छ ।

लाइसेन्स छाप्न हामीले अहिले २० ओटा प्रिन्टर प्रयोगमा ल्याएका छौं । २० ओटा मेसिन चलाउन अपरेटर र प्राविधिक पनि खटाइएको छ । यातायात विभागबाट हामीलाई जति डाटा आउनुपर्ने हो त्यो नआएका कारणले यस्तो समस्या देखिएको हो । यसै कारण ढिलाइ भएको छ ।

हामीलाई लाइसेन्स छाप्न कुनै समस्या छैन । कम्पनीलाई नकारात्मक प्रभाव पार्ने गरी बाहिर हल्ला आएको छ । यदि हामीलाई समयमै डाटा उपलब्ध गराउने हो भने ४५ दिनभित्र पेन्डिङमा रहेका सबै लाइसेन्स छाप्छौं । यसमा कुनै समस्या छैन ।

लाखौं सर्वसाधारण स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । सेवाग्राहीलाई सधैं किन आश मात्रै देखाउनु हुन्छ ? विभागले डाटा उपलब्ध नगराएको भए दबाब किन दिनुहुन्न ?
हामी चाहन्छौं सर्वसाधारण जनताले छिटोभन्दा छिटो सेवा पाऊन् । कम्पनीले यसका लागि कुनै पनि कसर बाँकी राखेको छैन । कम्पनीले नियमित काम गरिरहेको छ । अहिले एक लाख २० हजार लाइसेन्स कम्पनीले दिनरात काम गरेर पनि छापिसकेको छ । विभागलाई हामीले भनेका पनि छौं र दबाब दिँदै पनि आएका छौं । उहाँहरुले समस्या समाधान हुँदै छ भन्नुभएको छ । हामी त्यही आशमा बसिरहेका छौं । हिजोदेखि कम्पनीले लाइसेन्स छाप्न प्राविधिकसमेत खटाइसकेको छ ।

कहिलेसम्म पाउँछन् पेन्डिङमा रहेका सेवाग्राहीले लाइसेन्स ?
अहिले समय तोकेर भन्न सकिँदैन । हाम्रो तर्फबाट समस्या भएको भए हामी जुनसुकै हालतमा पनि यो विषयलाई टुङ्गो लगाउँथ्यौं । तर डाटामा इरर आउने पाटोमा मालिकाले केही गर्न नमिल्ने हुँदा तथा यो सरकारको विषय भएकाले समय तोकेर भन्न सकिने अवस्था छैन ।

डाटा इरर भन्नुभयो । यो कस्तो समस्या हो ?
डाटा इरर भन्नाले यातायात व्यवस्था विभागसँग डाटा छ भने हामीसँग सफ्टवेयर छ । डाटामा हाम्रो कुनै किसिमको पहुँच हुँदैन । विभागले मालिकालाई सो डाटा सफ्टवयेरमार्फत् पठाइदिन्छ, अनि हामीले त्यसलाई क्याच गर्नुपर्ने हुन्छ । यसको मतलब विभागबाट सर्भरमार्फत् डाटा आउँछ । त्यसका लागि एउटा डीएलएल फाइल हामीकहाँ आउछ ।

एउटा डाटाका लागि एउटा फाइल आउने हो । यसरी फाइल आउँदा अधिकांश क्रप अथवा इरर भएर आउँछन् त मूल समस्याको जड नै त्यही हो । जुन फाइल इरर हुँदैनन् ती प्रिन्ट हुन्छन् । इरर फाइल डम्पिङ्मा जान्छन् ।

यातायात व्यवस्था विभाग र तपाईंहरुबीच तालमेल नमिलेको अथवा समन्वयको कमी भएको देखियो । किन यस्तो भइरहेको छ ?
होइन, त्यस्तो तालमेल नमिलेको भन्ने कुरामा कुनै सत्यता छैन । समन्वय भएको छ । एकले अर्कालाई दोष लगाउनेभन्दा पनि हामी कसरी समस्या समाधन गरी छिटोभन्दा छिटो लाइसेन्स उपलब्ध गराउन सक्छौं, त्यसमै अहिले ध्यान केन्द्रित गरेका छौं । बाहिर हल्ला आए जस्तो तालमेल नमिलेको भन्ने होइन । समस्या समाधान गरे हाम्रो लागत खर्च पनि कम हुन्थो । धेरैदिन लगाएर हामीले धेरै पैसा पाउने पनि होइन । हाम्रो चाहना के हो भने विभागबाट समस्या समाधान भइदिए राम्रो हुन्थो भन्ने मात्र हो ।

विभागसँग एक दुई दिन अघि भएको छलफलमा विभागको सो समस्या छिट्टै समाधान गर्ने वचन दिनुभएको छ । अहिले जति डाटा आइरहेको छ, त्यसलाई प्रिन्ट गर्नुस् । अरु विस्तारै समाधान हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ । इन्जिनियर बोलाएर त्यसलाई छिटै समाधान गर्छौं भन्ने छ । आशा गरौं, हुन्छ होला ।

दैनिक २० हजार स्मार्ट लाइसेन्स छाप्ने क्षमता कम्पनीमा छ भन्नुभयो । खास कति हो तपाईंहरुको छाप्ने क्षमता ?
विभागले डाटा उपलब्ध गराइदिने हो भने हाम्रा लागि २० हजार कुनै ठूलो कुरा होइन । हिजो रातिमात्र हामीले पाँच हजार लाइसेन्स छापिसकेका छौं । सामान्यतया हाम्रो एउटा प्रिन्टरले दैनिक एक हजार छाप्न सक्छ । यही आधारमा हिसाब गर्दा ४५ दिनमा ६ लाख भनेका थियौं । तर छाप्ने नै भन्ने दाबी थिएन ।

लाइसेन्स छाप्ने प्रक्रिया कस्तो छ ? कसरी व्यवस्थापन गर्नुभएको छ ?
लाइसेन्स छाप्ने प्रक्रिया भनेको विभागको सर्भरबाट डाटा आउँछन् । त्यसलाई कम्प्युटरमार्फत् हाम्रो सफ्टवयेरमा हाल्छौं । र त्यसलाई प्रिन्ट गर्छौं ।

मालिका कस्तो कम्पनी हो ?
मालिका यूएसको जेब्रा टेक्नोलाजीमा आधारित भएर काम गर्छ । सोही जेब्रा कम्पनीसँग समन्वय गरेर स्थापना भएको एउटा कम्पनी हो यो । विषेशगरी यसले आईटी सेक्टर तथा अटो आइडेन्टिफिकेसन एन्ड डाटा क्याप्चरिङ् जस्तै, उदाहरणका लाग बारकोड, फिजिकल टु डिजिटलको काम गर्छ । सरकारी क्षेत्रमा स्मार्टकार्ड तथा बैङ्किङ सेक्टरमा एटीएम, डेबिट तथा क्रेडिट कार्ड प्रिन्ट गर्छौं ।

त्यस्तै हस्पिटलमा बढी फोकस गरेका छौं । हस्पिटललाई कसरी पेपरलेस बनाउन सकिन्छ, त्यसमा ध्यान दिएका छौं । आज हस्पिटल गएका मान्छेको डाटा पाँच वर्षपछिसम्म कसरी सुरक्षित राख्ने, फेरि सेवा लिँदा कसरी सहयोग गर्ने, यी कुराहरु सफ्टवेयर र हार्डवेयरको एउटा तालमेल मिलाएर पेपरलेस गर्न सकिन्छ । यसैलाई बढी ध्यान दिएका छौं ।

अहिले स्मार्ट नागरिकता पनि आएको छ, तर त्यसलाई अहिले लिएका छैनौं । प्रविधि फरक छ । अवसर मिल्यो भने कुनै समस्या होइन । त्यसमा पनि हात हाल्ने योजनामा छौं ।