रसुवागढी हाइड्रोपावरले १ अर्ब २ करोडको आईपीओ निष्कासन गर्दै

पहिलो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँबराबरका १ करोड २ लाख ७३ हजार कित्ता आईपीओ निष्कासन हुने छ । त्यसपछि आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात् ६८ करोड ४२ लाख रुपैयाँ बराबरका ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५ लाख रुपैयाँबराबरका १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासनको आन्तरिक तयारी भइरहेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइरालाले बताए । बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन हुने कोइरालाले जानकारी दिए । पहिलो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन हुने उनले बताए ।

पहिलो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँबराबरका १ करोड २ लाख ७३ हजार कित्ता आईपीओ निष्कासन हुने छ । त्यसपछि आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात् ६८ करोड ४२ लाख रुपैयाँ बराबरका ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात् ६८ करोड ४२ लाख रुपैयाँ बराबरका ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेकोमा यसलाई स्थगन गरेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

भूकम्पबाट धेरै प्रभावित भएकाले आईपीओमा लगानी गर्न रकम नभएको भन्दै जिल्ला समन्वय समितिमार्फत् स्थानीयबासिन्दाले आग्रह गरेपछि यसलाई स्थगन गरेर कम्पनीले १५ प्रतिशत निष्कासन गर्न लागेको हो । पहिलो चरणमा १५ प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डले स्वीकृति दिइसकेको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ताअन्तर्गत नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहका साथै ऋणदाता सञ्चय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरी बाँडफाँट भइसकेको छ ।

आयोजनाको ४ हजार २०० मिटर अर्थात् ४.२ किलोमिटर लामो सुरुङ खन्ने काम पूरा भएको छ । कम्पनीले रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । बाँकी ३० प्रतिशत तीव्र गतिमा भइरहेको कोइरालाले बताए ।

१६ महिनाभित्र आयोजना सम्पन्न भई बिजुली बल्ने छ । आउँदो २०७६ फागुन ७ गते आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । आयोजना नेपाल–चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ ।

आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेसन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेडले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ ।

रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दाको १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशत लगानी छ ।