विश्वको सबैभन्दा ठूलो हवाई संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले एक वर्षअघि नै नेपाललाई कालोसूचीबाट हटाएको स्मरण गर्दै आईकाओ मातहतमै रहेको ईयूले कालोसूचीबाट नहटाएकाले आवश्यक पहल गरिदिन अनुरोध गरेका हुन् ।
काठमाडाैं : युरोपियएन युनियन (ईयु)को कालोसूचीबाट नेपाललाई हटाउनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)लाई पहल गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आग्रह गरेका छन् । विश्वको सबैभन्दा ठूलो हवाई संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले एक वर्षअघि नै नेपाललाई कालोसूचीबाट हटाएको स्मरण गर्दै आईकाओ मातहतमै रहेको ईयूले कालोसूचीबाट नहटाएकाले आवश्यक पहल गरिदिन अनुरोध गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अब ईयूको कालोसूचीबाट नेपाललाई हटाउन आईकाओले पहल गरिदिन अनुरोध गरेका छन् । उनले ईयूको कालोसूचीकै कारण युरोपियन मुलुकहरुमा नेपाली जहाजले उडान भर्न नपाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । आईकाओ दिवसको अवसरपारी पर्यटनमन्त्री अधिकारीले विमानस्थलको टर्मिनल परिसरमा नेपालको राष्ट्रिय झण्डा र आईकाओको झण्डोत्तोलन गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आईकाओको मापदण्डअनुरुप उड्डयनको सुरक्षा तथा सेवाको गुणस्तर अभिवृद्धिमा लागिपरेको बताए । सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलो पटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरेको उनको भनाइ छ ।
सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।