अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै नेप्सेमा अनशन

पुँजी बजारमा देखिएका सम्पूर्ण समस्या लगानीकर्ताले चाहेको खण्डमा केही घन्टामा नै समाधान हुन सक्ने भए पनि अर्थमन्त्रीले त्यसो नगरेको उनीहरुले बताएका छन् ।

काठमाडाैं ।सेयर लगानीकर्ता दबाब समूहले १० बुदे माग राख्दै आज (आइतबार)देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिले अनशन सुरु गरेका छन् । आफ्नो सम्पत्तीको सुरक्षा आफैँ गरौं भन्ने नाराका साथ लगानीकर्ताले धर्ना सुरु गरेका हुन् ।

पुँजी बजारमा देखिएका सम्पूर्ण समस्या लगानीकर्ताले चाहेको खण्डमा केही घन्टामा नै समाधान हुन सक्ने भएपनि अर्थमन्त्रीले त्यसो नगरेको उनीहरुले बताएका छन् । निधारमा कालो पट्टी बाधेर धर्नामा बसेका उनीहरुले आफ्नो माग सम्बोधन नभए अनिश्चित कालिन आमरण अनशन बस्ने बताए । लगानीकर्ताले राखेका १० बुदे माग यसप्रकार छन्ः

१. सरकारले पुँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा विस्तारका लागि तत्काल विशेष कार्यक्रम ल्याओस् । पुँजी बजार विरोधी अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा र पुँजी बजारमैत्री व्यक्तित्वलाई अर्थमन्त्री बनाउने ।

२. बैङ्क खाता र डिम्याट खाता ईन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याइयोस् ।

३. धितोपत्र बोर्ड तीन वर्ष अघिदेखि गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पुँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागू गरी उनीहरुलाई पुँजी बजारमा भित्र्याइयोस् ।

४. सेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गरियोस् ।

५. सेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पुर्याइयोस् र जोखिम भारित अंश सय प्रतिशत वा सोभन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्रप्त हुने व्यवस्था गरियोस् । प्राथमिक पुँजीको २५ प्रतिशत हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैङ्क तथा वित्तीय संस्थाले सेयर धितो कर्जा प्रवाह गर्नसक्ने व्यवस्था होस् ।

६. धितोपत्र बोर्डले तीन वर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरसीप तत्काल व्यवस्थाहोस् ।

७. ग्रेड चार र पाँच रेटिङ् प्राप्त कम्पनीलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत अन्य कम्पनीहरु प्रत्यक नियमकारी निकाय व्यवस्था भएपछिमात्र आईपीओ ल्याउन पाउने व्यवस्था गरियोस् ।

८. कम्पनीले हकप्रद सेयर बिक्रीको प्रस्ताव सार्वजनिक गर्नु आगावै संस्थापक र आधारभूत सेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताव सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने व्यवस्था गरियोस् ।

९. सहायक कम्पनी खोलेर आवेदन गरेका बाणिज्य बैङ्कलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ सेयर दलाललाई तत्काल ब्रोकर लाईसेन्स दिएर पुँजी बजारमा देशभरका जनताको पहुँच कायम हुने व्यवस्था गरियोस् ।

१०. कम्पनीले एफपीओ बिक्रीको प्रस्ताव गर्दा प्रतिसेयर नेटवर्थभन्दा बढी मूल्य नहुने शर्तमा मात्र स्वीकार गरियोस् ।