अनलाइन कारोबारले लगानीकर्तामा उत्साह, नेप्से बढे पनि कारोबार घट्यो

अनलाइनको युजर आईडी र पासवर्ड पाएको दिन आज नेप्से अन्तिम ३० मिनेटमा ५ अङ्क बढेपछि १० अङ्कको सुधार भएको हो ।

लगानीकर्तालाई अनलाइन कारोबारको युजर आईडी र पासवर्ड दिएपछि सेयर बजार उत्साहजनक रुपले बढेको छ । युजर आईडी र पासवर्ड लिन चाहने लगानीकर्तालाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि दिएको छ । अनलाइनको युजर आईडी र पासवर्ड पाएको दिन आज नेप्से अन्तिम ३० मिनेटमा ५ अङ्क बढेपछि १० अङ्कको सुधार भएको हो ।

कारोबार सुरु भएदेखि नै स्थिररुपमा बढेको नेप्से १ अङ्क बढेपछि केही अङ्क तल झरेको थियो । तर, लगत्तै आफ्नो लय समाउँदै फेरि ओरालो लाग्दै कारोबार सुरु भएको बिन्दुमा आएको थियो । त्यसपछि लगातार बढ्दै नेप्से १०.८५ अङ्क बढेर ११३१.७० अङ्क कायम भएको छ । आज नेप्से ११२० अङ्कबाट सुरु भएको थियो ।

आज साताको पहिलो दिन नेप्सेमा १ सय ५५ कम्पनीका २ हजार ९ सय ६५ कारोबारबाट ७ लाख १४ हजार ६ सय १८ कित्ता सेयर खरिदबिक्री भई २२ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साताको बिहीबारको कारोबार रकमभन्दा १५ करोडले कम हो ।

नेप्सेमा बिहीबार १ सय ६२ कम्पनीका ४ हजार १ सय ७० कारोबारबाट १३ लाख ७४ हजार सेयर खरिदबिक्री भई ३७ करोड रुपैयाँ बराबरको कारोबार थियो ।

नेप्सेमा कारोबार भएका समूहमध्ये आज २ समूहबाहेक सबै समूह बढेको छ । नेप्सेमा फाइनान्स र उत्पादनमूलक समूहबाहेक सबै समूहमा सुधार आएको छ । जसको प्रत्यक्ष प्रभाव नेप्सेमा देखिएको छ ।