अनशनले बढायो सेयर बजार, नेप्से १२ अङ्क उक्ल्यो

आइतबारदेखि लगानीकर्ता रिले अनशनमा बसेपछि बजार आज सोमबार दोस्रो दिन दोहोरो अङ्कले बढेको हो । आइतबार अन्तिम समयमा १० अङ्क बढेको नेप्से सोमबार १२.४९ अङ्कले बढेको छ ।

सेयर लगानीकर्ता दबाव समूहको अनशनपछिका दुई दिन सेयर बजार लगातार बढेको छ । आइतबारदेखि लगानीकर्ता रिले अनशनमा बसेपछि बजार आज सोमबार दोस्रो दिन दोहोरो अङ्कले बढेको हो । आइतबार अन्तिम समयमा १० अङ्क बढेको नेप्से सोमबार १२.४९ अङ्कले बढेको छ ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से साढे दुई घन्टामा १५ अङ्क बढेर केही ओरालो लाग्दै बढेकै अवस्थामा ८ अङ्कमा आएको थियो । त्यसपछि अन्तिम समयमा ५ अङ्क बढ्दै कारोबार सकिँदासम्म १२.४९ अङ्कमा पुगेर रोकिएको हो ।

नेप्सेमा आज १ सय ६३ कम्पनीका ४ हजार ५ सय ६६ कारोबारबाट १२ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भई ४३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा २१ करोडले बढी हो ।

आइतबार नेप्सेमा १ सय ५५ कम्पनीका २ हजार ९ सय ६५ कारोबारबाट ७ लाख १४ हजार ६ सय १८ कित्ता सेयर खरिदबिक्री भई २२ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा कारोबार भएका १० समूहमध्ये दुई समूह ओरालो लागे पनि आठ समूह बढ्दा नेप्से दोहोरो अङ्क बढ्यो । नेप्सेमा आज उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहमा सुधार आएको छ । उत्पादनमूलक २.५१ तथा अन्य २.७९ अङ्कले घटेको छ ।

यस्तै बैङ्किङ १३.४३, होटल २३.८७, विकास बैङ्क १४.८, निर्जीवन बिमा ७२.०५, जीवन बिमा ९८.६९ अङ्कले बढेको छ ।