तेस्रो दिन सेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौंः साताको तेस्रो दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आइतबार र सोमबार उकालो लागेको सेयर बजार मङ्गलरबा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज सून्य दशमलव ७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रुपैयाँ ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टककाअनुसार कारोवार भएका दश उपसमुहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा वित्त ०.१७, उत्पादन १३.८१, अन्य ०.६२ विन्दुले बढेको छ । बैङ्किङ २.६८, होटल १४.६८, विकास बैङ्क १.९३, जलविद्युत् ३.८, निर्जीवन बीमा २८.९, लघुवित्त १०.२५ र जीवन बीमा २५.७३ विन्दुले घटेको छ ।

घटेको बजारमा गुह्येश्वरी मचेन्ट बैङ्क एण्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् । मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडिसि लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।