त्रिभुवन विमानस्थलकाे अान्तरिकतर्फ ‘सुरक्षा जाँच केन्द्र’

यात्रु र विमानस्थलको सुरक्षामा ध्यान दिँदै विमानस्थलले मङ्गलबारबाट सुरक्षा जाँच केन्द्रको स्थापना गरेको हो ।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पनि सुरक्षा जाँच केन्द्र स्थापना भएको छ । यात्रु र विमानस्थलको सुरक्षामा ध्यान दिँदै विमानस्थलले मङ्गलबारबाट सुरक्षा जाँच केन्द्रको स्थापना गरेको हो ।

‘सुरुमा आन्तरिकतर्फ भित्रपट्टि मात्र जाँच केन्द्र थियो, अब बाहिर पनि सुरु भएको छ,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘अब सुरक्षाकर्मीले हातले चेकजाँच गरिराख्नु पर्दैन ।’ सुरक्षा जाँच कक्षमा पास रिर्डर, लगेज एक्सरे र वाक थ्रो एक्सरे रहने छ ।

सो जाँच केन्द्र नहुँदा यात्रुसँग रहेका लगेज प्रहरीले हातले चेकजाँच गर्दै आएका थिए । आन्तरिकतर्फ टर्मिनलसँगै सुरक्षा जाँच केन्द्र स्थापना गरिएको हो । सो जाँच केन्द्र अन्तर्राष्ट्रियतर्फ भने यसअघि नै स्थापना भइसकेको छ ।

विमानस्थल सुधारमा लागेका महाप्रबन्धक क्षेत्रीले यसअघि पार्किङ क्षेत्रलाई पनि व्यवस्थित बनाइसकेका छन् । पार्किङस्थल व्यवस्थित नहुँदा धेरै यात्रुले दुख भोग्ने गरेको थिए । यस्तै विमानस्थलमा आउने यात्रुलाई सूचना आदानप्रदानका लागि सहज होस् भन्ने उद्देश्यले विमानस्थलमा फ्री वाईफाईको व्यवस्था गरेका छन् ।